मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

nepalkuro.com

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

राक्सिराङको भावर हुँदै खरङ्गातर्फ आउँदै गरेको बा.प्र. ०१–०२५ च ०८७७ नम्बरको कारलाई ग.२ च ६१५ नम्बरको पिकअपले ‘स्कटिङ’ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीको टोलीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार कारको सिटमुनि लुकाएर ल्याइएको अवस्थामा १३ पोका गाँजा फेला परेको थियो ।

गाँजा बोकेको कारलाई ‘स्कटिङ’ गर्दै आएको पिकअप गाडी भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा कार चालक चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षीय देवनारायण महतो र पिकअप चालक भरतपुर महानगरपालिका–२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङ रहेका छन् ।

प्रहरी नायब उपरीक्षक काफ्लेले विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीको टोलीले १६२ किलोभन्दा बढी गाँजासहित दुईवटा सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको बताए ।

गाँजासहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया