गौरीघाट–गुह्येश्वरी क्षेत्रमा कालोपत्र हटाएर ढुङ्गा छापिँदै
nepalkuro.com
१७ भदौ २०८३, बुधबार
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले गौरीघाट–गुह्येश्वरी क्षेत्रमा कालोपत्र हटाएर ढुङ्गा छपाइ सुरु गरेको छ । प्राचीन तथा पुरातात्विक महत्व बोकेको उक्त क्षेत्रको मौलिक स्वरूप पुनःस्थापना गर्ने उद्देश्यले करिब एक हजार ७०० वर्गमिटर क्षेत्रमा ढुङ्गा छाप्न लागिएको हो ।
काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष आशामान सङ्गतका अनुसार पहिलो चरणमा करिब ८७ लाख रुपैयाँको लागतमा ढुङ्गा छपाइको काम सुरु गरिएको हो । दोस्रो चरणमा थप एक हजार १०० वर्गमिटर क्षेत्रमा ढुङ्गा छाप्न ९० लाख रुपैयाँ बराबरको खरिद प्रक्रिया अघि बढाइएको छ ।
वडाध्यक्ष सङ्गतले पुरातात्विक तथा प्राचीन महत्वका क्षेत्रमा यसअघि कालोपत्र गरिएका सडकलाई परम्परागत निर्माण शैली र विधिअनुसार पुनःस्थापना गर्ने अभियान सञ्चालन गरिएको बताए ।
“पशुपति क्षेत्र, जयबागेश्वरी, नवाली टोल, गुह्येश्वरीजस्ता प्राचीन महत्वका स्थान हाम्रो वडाको परिचय हुन् । यी स्थानमा मौलिक स्वरूप पुनःस्थापना अभियान सञ्चालन गरेका छौँ,” उनले भने ।
महानगरपालिकाले सेतोढोका, जयबागेश्वरी, पशुपतिनाथ मन्दिरको ढोका क्षेत्र, नवाली टोलका सहायक गल्ली तथा तिलगङ्गा देउला टोलका सडक र गल्लीमा यसअघि नै ढुङ्गा छापिसकेको छ । जयबागेश्वरी उमाकुण्ड तथा आसपासका गल्लीमा पनि ढुङ्गा छाप्ने काम सुरु गर्ने तयारी गरिएको छ ।
वडाका विभिन्न प्राचीन तथा ऐतिहासिक क्षेत्रको मौलिक स्वरूप पुनःस्थापना गर्न हालसम्म करिब चार करोड ५० लाख रुपैयाँ खर्च भइसकेको महानगरपालिकाले जनाएको छ ।
गौरीघाट–गुह्येश्वरी मार्गमा कालो रङका चार इञ्च मोटाइका ढुङ्गा प्रयोग गरिनेछ । ढुङ्गाको तहमुनि करिब चार इञ्चको चुना ढलान राखिनेछ । निर्माणमा आधुनिक सामग्रीको प्रयोग नगरी ढुङ्गा, चुना लगायत परम्परागत सामग्री प्रयोग गरिने महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका अनुसार सडकलाई आधुनिक स्वरूपमा विस्तार गर्नुको सट्टा ऐतिहासिक तथा धार्मिक क्षेत्रको मौलिक पहिचान जोगाउने गरी पूर्वाधार विकास गर्ने नीति लिइएको हो । यसबाट गौरीघाट–गुह्येश्वरी क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक महत्व संरक्षण हुनुका साथै धार्मिक तथा पर्यटकीय आकर्षणसमेत बढ्ने अपेक्षा गरिएको छ ।