जेनजी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग
nepalkuro.com
२३ भदौ २०८३, मङ्गलबार
काठमाडौं– जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जना शहीदको स्मरण गर्दै न्याय, जवाफदेहिता र छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
जेनजी मुभमेन्ट नेपालका रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी त्यसमा उल्लेखित सिफारिस कार्यान्वयन गर्न माग गरिएको छ ।
त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका सम्बन्धमा गरेको छानबिन प्रतिवेदनसमेत सार्वजनिक गर्नुपर्ने मुभमेन्टको माग छ ।
आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै मुभमेन्टले आन्दोलनलाई योजनाबद्ध रूपमा हिंसा तथा मुठभेडतर्फ धकेल्ने, हिंसा भड्काउने वा राज्य र नागरिकबीच द्वन्द्व सिर्जना गर्ने कार्यमा संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।
यसैगरी, भदौ २४ गते भएका आगजनी, तोडफोड, हिंसा तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिबारे निष्पक्ष अनुसन्धान गरी दोषी प्रमाणित भएकामाथि कानुनी कारबाही गर्नुपर्ने मुभमेन्टको माग छ ।
जेनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेका तर कुनै गम्भीर अपराधमा संलग्न नभएका नागरिक तथा युवालाई तत्काल रिहा गर्न पनि मुभमेन्टले माग गरेको छ ।
दोषी र निर्दोष छुट्याउने आधार निष्पक्ष अनुसन्धान र न्यायिक परीक्षण हुनुपर्ने भन्दै मुभमेन्टले सामूहिक दण्ड तथा प्रतिशोध स्वीकार्य नहुने स्पष्ट पारेको छ ।