ठमेलमा युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा शालीन शाह पक्राउ
nepalkuro.com
२१ भदौ २०८३, आईतबार
काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शालीन शाहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले शाहलाई कलङ्कीबाट पक्राउ गरेको हो ।
पीडित युवतीले आफू ठमेलमा दुर्व्यवहारमा परेको भन्दै घटना सार्वजनिक गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो । घटनाको जानकारी पाएलगत्तै प्रहरीले संलग्न व्यक्तिको पहिचान तथा खोजीलाई तीव्र बनाएको जनाएको छ ।
खोजतलासका क्रममा शाहलाई कलङ्कीमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका शाहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।
प्रहरीका अनुसार घटनाको कारण, घटनाक्रम तथा संलग्नताबारे थप अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि घटनासम्बन्धी थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।