चितवन कारागारका कैदीबन्दीद्वारा भोटेकोशी बाढीपीडितलाई सहयोग

nepalkuro.com

चितवन– चितवन कारागारमा रहेका कैदीबन्दीले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि आर्थिक सहयोग तथा श्रमदान गरेका छन्।

कैदीबन्दीले आफ्नो क्षमताअनुसार १०० देखि २ हजार रुपैयाँसम्म नगद सङ्कलन गर्नुका साथै श्रमदान गरी प्रभावित परिवारका लागि आवश्यक बन्दोबस्तीका सामग्री तयार गरेका हुन्। उनीहरूले सोमबार कारागार परिसरमै प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई उक्त सामग्री हस्तान्तरण गरेका छन्।

कैदीबन्दीले डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीका खोल, गम्छा, नङ्कटर, साबुन, दाँत माझ्ने ब्रस, मञ्जन र काइयो १२५ सेटका दरले उपलब्ध गराएका छन्।

उक्त सामग्रीका लागि ३ लाख ६७ हजार ३६ रुपैयाँ बराबरको सामान खरिद गरिएको थियो। डसना र सिरानी भने कैदीबन्दीले कारागार परिसरमै श्रमदान गरी तयार गरेका हुन्।

सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले कारागारमा रहेका कैदीबन्दीले विपद्का बेला गरेको सहयोग उदाहरणीय तथा नमुनायोग्य भएको बताए।

चितवन कारागारमा हाल ७५० जना कैदीबन्दी रहेका छन्। तीमध्ये ७०८ जना पुरुष र ४२ जना महिला रहेको कारागार प्रशासनले जनाएको छ।

प्रतिक्रिया