बिहीबार देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
nepalkuro.com
२५ भदौ २०८३, बिहिबार
काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारको मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशभर सामान्यदेखि आंशिक बदली रहने जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई भू–भागका धेरै स्थानमा, कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भाग तथा मधेश प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भू–भागका केही स्थान र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।