भोटेकोशी बाढीपछि नेपाल टेलिकमको फाइबर सेवा पुनःसञ्चालन : पहिलो चरणको काम सम्पन्न

nepalkuro.com

काठमाडौं – यही भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको पुनःसञ्चालन कार्य सम्पन्न भएको छ।

बाढीले रसुवागढी र बेत्रावतीमा एक–एक गरी दुई वटा ओएलटी, रसुवागढीमा एक, बेत्रावतीमा एक र त्रिशूलीमा तीनवटा गरी पाँचवटा एफडीसी तथा करिब १२८ किलोमिटर एरियल अप्टिकल फाइबर केबल बगाएको थियो।

बाढीका कारण उक्त क्षेत्रमा सञ्चालित कुल १ हजार ५४४ वटा एफटीटीएच लाइन पूर्ण रूपमा प्रभावित भएका थिए। विपद्पछि नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक स्रोतसाधन परिचालन गरी मर्मत तथा पुनःसञ्चालनको कामलाई तीव्रता दिएको जनाएको छ।

हालसम्म प्रभावितमध्ये १ हजार ९३ वटा एफटीटीएच लाइन पुनःसञ्चालनमा आएसँगै पहिलो चरणको सेवा पुनःसञ्चालन कार्य सम्पन्न भएको टेलिकमले जनाएको छ। बाँकी रहेका लाइनहरू सम्बन्धित क्षेत्रको भौगोलिक तथा बस्तीको अवस्था, प्राविधिक सम्भाव्यता र ग्राहकको मागका आधारमा क्रमशः सञ्चालनमा ल्याइने नेपाल टेलिकमले जनाएको छ।

प्राकृतिक विपद्को विषम परिस्थितिमा पनि सेवाग्राहीलाई यथाशीघ्र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको जनाउँदै टेलिकमले सेवा अवरुद्ध भएको अवधिमा सेवाग्राहीले देखाएको धैर्यता र विश्वासप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया