काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागका मौसमविद् बिनु महर्जनका अनुसार बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भू–भागमा दिउँसो भारी वर्षाको सम्भावना छ भने अन्य प्रभावित क्षेत्रमा मध्यम वर्षा हुनसक्नेछ।
“देशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै झापाको अनारमनी विर्तास्थित मौसम मापन केन्द्रमा ३४ मिलिमिटर वर्षा मापन भएको छ,” उनले भनिन्।
उनका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। अहिले देशभर सामान्यतया बदली रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।
लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीसमेत चल्न सक्ने विभागले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग, देशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुनसक्ने विभागले जनाएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षा हुनसक्नेछ।
विभागले आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। पछिल्लो बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा थप सतर्कता अपनाउनुपर्ने देखिएको छ।