भोटेकोशी बाढीपछि हैजाको जोखिम, रसुवामा २१ हजार डोज खोप पठाइयो
nepalkuro.com
२१ भदौ २०८३, आईतबार
काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै सरकारले रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त उक्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पुर्याइएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन् ।
मन्त्रीको निर्देशनअनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउनुका साथै रोगको सूक्ष्म निगरानी, सुरक्षित खानेपानी, सरसफाइ तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने कार्य अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बाढीका कारण खानेपानीका मुख्य मुहान तथा वितरण प्रणालीमा ठूलो क्षति पुगेकाले हैजा लगायत अन्य पानीजन्य तथा सरुवा रोगको जोखिम उच्च रहेको मन्त्रालयले जनाएको छ । जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा रोग रोकथाम, शीघ्र पहिचान तथा उपचार व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको छ ।
सरकारले बाढी प्रभावित क्षेत्रमा रोग फैलिन नदिन खोप तथा औषधि उपलब्ध गराउनेसँगै खानेपानी र सरसफाइको अवस्था सुधार, स्वास्थ्य निगरानी तथा सम्भावित संक्रमितको तत्काल उपचार गर्ने तयारी अघि बढाएको जनाएको छ ।