जर्मनीमा ह्यारी केनको ऐतिहासिक कीर्तिमान : ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी फुटबलर

nepalkuro.com

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको प्रतिष्ठित ‘प्लेयर अफ द इयर’ अवार्ड जित्ने पहिलो अंग्रेजी फुटबलर बनेका छन्। शानदार प्रदर्शन गर्दै उनले जर्मन फुटबलमा नयाँ इतिहास रचेका हुन्।

गत सिजन बार्यनलाई लिग र कपको दोहोरो उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका केनले सबै प्रतियोगितामा ६१ गोल गरेका थिए। उनको उत्कृष्ट प्रदर्शनकै बलमा बार्यन च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पनि पुगेको थियो।

जर्मन खेलकुद पत्रकार संघका ६९५ सदस्यको मतदानका आधारमा ‘किकर’ म्यागजिनले प्रदान गर्ने उक्त पुरस्कारमा केनले २७२ मत प्राप्त गरे। उनका बार्यन सहकर्मी माइकल ओलिसे २०३ मतसहित दोस्रो स्थानमा रहे।

बार्यनका खेलकुद निर्देशक म्याक्स एबर्लले केनको खुलेर प्रशंसा गरेका छन्। उनका अनुसार केनको प्रदर्शनलाई वर्णन गर्न सही शब्द नै भेट्टाउन गाह्रो छ। इंग्ल्यान्डमा समेत ‘फुटबलर अफ द इयर’ बनिसकेका केनले अब जर्मनीमा पनि सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका छन्।

इङ्ल्यान्ड राष्ट्रिय टोलीका कप्तान केन अब आगामी अक्टोबरमा लन्डनमा प्रदान गरिने सन् २०२६ को बालोन डि ओरका प्रमुख दावेदारमध्ये एक मानिएका छन्। यदि उनले उक्त प्रतिष्ठित अवार्ड जितेमा जर्मन क्लबबाट खेल्दै बालोन डि ओर जित्ने दोस्रो अंग्रेजी खेलाडी बन्नेछन्। यसअघि केभिन केगनले ह्यामबर्गबाट खेल्दै सन् १९७८ र १९७९ मा यो सफलता हासिल गरेका थिए।

यसैबीच, बार्यन म्युनिखका मुख्य प्रशिक्षक भिन्सेन्ट कम्पानी ‘कोच अफ द इयर’ घोषित भएका छन्। बार्यन महिला टोलीकी कप्तान जुलिया ग्विन उत्कृष्ट महिला खेलाडी चुनिएकी छन्।

केन र कम्पानीलाई शुक्रबार एलियान्ज एरेनामा भिएफबी स्टटगार्टविरुद्ध हुने बार्यनको बुन्डेसलिगा उद्घाटन खेलअघि विशेष सम्मान प्रदान गरिनेछ।

प्रतिक्रिया