सेती प्रादेशिक अस्पतालको सेवा प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

nepalkuro.com

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र व्यवस्थित बनाउन सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन्।

आज अस्पतालको अनुगमन गर्दै मुख्यमन्त्री भट्टले उपलब्ध स्रोतसाधन र जनशक्तिको अधिकतम उपयोग गर्दै नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन्।

स्वास्थ्य सेवा सुधार प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले अस्पतालमा आवश्यक सेवा विस्तार तथा भौतिक पूर्वाधार विकासका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

“सेती प्रादेशिक अस्पताल यहाँका धेरै नागरिकको भरोसा पनि हो। त्यसैले अस्पतालको सेवा प्रवाहसँगै भौतिक तथा संरचनागत सुधारमा प्रदेश सरकारले ध्यान दिन्छ,” मुख्यमन्त्री भट्टले भने, “अस्पताल प्रशासन र यहाँ कार्यरत सबैले अस्पतालको समग्र व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक छ। सुधारका लागि प्राथमिकताका साथ काम गर्नुहोला।”

मुख्यमन्त्री भट्टले सेती प्रादेशिक अस्पताल मात्र नभई सुदूरपश्चिम प्रदेशका सबै अस्पतालको सेवा सुधार गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताए।

प्रतिक्रिया