रसुवा बाढी प्रभावितका लागि काठमाडौँ महानगरले सञ्चालन गर्‍यो विपद् हेल्प डेस्क

nepalkuro.com

काठमाडौँ — रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्‍याउन काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा ल्याएको छ।

महानगरका अनुसार हेल्प डेस्कले विपद्का बेला सहयोग गर्न इच्छुक व्यक्ति, सङ्घसंस्था, पेशाकर्मी, उद्योगी–व्यवसायी तथा सरकारी निकायबीच समन्वय गर्ने पुलका रूपमा काम गर्नेछ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले राहत तथा सहयोगलाई व्यवस्थित बनाउन हेल्प डेस्कमार्फत प्राप्त हुने सम्पूर्ण नगद रकम नेपाल सरकारको आधिकारिक ‘प्रधानमन्त्री राष्ट्रिय विपद् कोष’मा जम्मा गरिने जानकारी दिइन्। खाद्यान्न, लत्ताकपडा तथा अन्य राहत सामग्रीको विवरण राखी आवश्यकताका आधारमा आधिकारिक वितरण केन्द्रसम्म पुर्‍याउने व्यवस्था मिलाइएको उनले बताइन्।

त्यस्तै, उपचारमा ढिलाइ भएका अस्पताल तथा मानवीय सहायता पुग्न नसकेका प्रभावित क्षेत्रमा स्वास्थ्य स्वयंसेवक परिचालन गरेर राहत र उद्धार कार्यमा सहयोग गर्ने महानगरको तयारी छ।

बाढीपहिरोबाट प्रभावित नागरिकको वास्तविक अवस्था पहिचान गर्न महानगरले वडास्तरबाट प्रभावित तथा पीडितको विवरण सङ्कलन गर्ने भएको छ। आगामी दिनमा राहत, उद्धार तथा पुनःस्थापनासम्बन्धी योजना बनाउँदा तथ्य र प्रमाणमा आधारित निर्णय प्रणाली अपनाउने महानगरले जनाएको छ।

यसैबीच, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रबाट काठमाडौँ महानगरवासी तथा अन्य नागरिकलाई सवारीसाधनमार्फत काठमाडौँ ल्याउने कार्यसमेत भइरहेको महानगरले जनाएको छ। प्रभावितको आवश्यकता र अवस्थाका आधारमा आगामी दिनमा सेवा तथा सहयोगको क्षेत्र थप विस्तार गरिने कार्यवाहक प्रमुख डंगोलले बताइन्।

महानगरले विपद्का बेला व्यक्तिगत रूपमा राहत वितरण गर्नुभन्दा हेल्प डेस्कमार्फत समन्वय गरी आवश्यक स्थानमा राहत पुर्‍याउन आग्रह गरेको छ।

प्रतिक्रिया