नेपालमा पहिलो पुरुष फ्रेन्चाइज भलिबल लिग हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा

nepalkuro.com

काठमाडौँ– नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता पछिल्लो समय बढ्दै गएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीको प्रदर्शनसँगै नेपालमै पनि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना भइरहेका बेला पहिलोपटक पुरुष फ्रेन्चाइज भलिबल लिग आयोजना हुन लागेको छ।

‘एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभीएल)’ नाममा आयोजना हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भदौ १९ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन शुक्रबार दिउँसो २:३० बजे हुनेछ।

केडिया ग्रुपको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। प्रतियोगिताको नारा ‘उचाइँको नयाँ उडान’ राखिएको छ।

प्रतियोगितामा सगरमाथा स्मासर्स, मधेश वारियर्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज, काठमान्डु रेड्स र खप्तड फाल्कन्स गरी ६ टोली सहभागी हुँदैछन्।

पहिलो दिन दुई खेल

प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन्। उद्घाटन खेलमा सगरमाथा स्मासर्स र मधेश वारियर्सबीच प्रतिस्पर्धा हुनेछ। खेल साँझ ४ बजे सुरु हुनेछ। सोही दिन अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराजबीच दोस्रो खेल साँझ ७ बजे हुनेछ।

एनभीएलमा कुल १७ खेल हुनेछन्। लिग चरणका १५ खेल सिंगल राउन्ड रोबिनका आधारमा खेलाइनेछ। लिग चरणपछि अंक तालिकाको शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच प्ले–अफ हुनेछ।

प्ले–अफको विजेताले लिगको शीर्ष स्थानमा रहने टोलीसँग पहिलो ऐतिहासिक उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

आयोजकले प्रतियोगिताको पहिलो दिन टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम भोटेकोशी–त्रिशूली बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ।

विदेशी खेलाडीको आकर्षण

प्रतियोगिताका लागि सहभागी टोलीले विदेशी खेलाडीसमेत अनुबन्ध गरेका छन्। कर्णाली शिवराजले पोल्यान्डका सेटर एमिलियन स्मेटेक र बेलारुसका आउटसाइड हिटर आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ। कर्णालीले न्यू डायमन्ड युथ स्पोटर्स क्लबमा आयोजित ट्यालेन्ट हन्टबाट डम्बर बीसीलाई पनि टोलीमा आबद्ध गरेको छ।

अन्नपूर्ण स्पाइकर किङ्सले मंगोलियाको राष्ट्रिय टोलीका सेटर तुर्मान्डाख गान्खुयागलाई अनुबन्ध गरेको छ। यसअघि अन्नपूर्णले मंगोलियाकै आउटसाइड हिटर उरानबायर मन्खबायर र अपोजिट हिटर इन्ख एर्डेन जारगालसोटलाई टोलीमा आबद्ध गरिसकेको छ।

काठमान्डु रेड्सले पाकिस्तानका सेटर अदनान खान र आउटसाइड हिटर अहमद मुस्तफा खानलाई अनुबन्ध गरेको छ। अहमद मुस्तफाले पाकिस्तानको सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका छन् भने अदनानसँग उमेर समूहको राष्ट्रिय टोलीको अनुभव छ।

खप्तड फाल्कन्सले रुसका अनुभवी आउटसाइड हिटर आर्टेम किसेलेभलाई अनुबन्ध गरेको छ। यसअघि खप्तडले बेनिनका आउटसाइड हिटर बोस्को डेटेसँग सम्झौता गरेको थियो।

६ टोलीका प्रशिक्षक र मार्की खेलाडी

सगरमाथामा उत्सव खड्का, मधेशमा भरत यादव, काठमान्डुमा नृपबहादुर बीके, अन्नपूर्णमा रमेश केसी, कर्णालीमा चन्द्रबहादुर कुँवर र खप्तडमा रुपेशकुमार विष्ट प्रशिक्षक रहेका छन्।

छैटै टोलीका मार्की खेलाडी पनि घोषणा भइसकेका छन्। सगरमाथाका हरिहजुर थापा, मधेशका रविन नगरकोटी, काठमान्डुका सुनिल बोहरा, अन्नपूर्णका हिमाल सुनारी, कर्णालीका पहल गहतराज र खप्तडका धिरज बस्नेत मार्की खेलाडी हुन्।

अक्सनमार्फत सहभागी टोलीले विभिन्न खेलाडीलाई ‘क्याटेगोरी ए’ र ‘क्याटेगोरी बी’ अन्तर्गत अनुबन्ध गरेका छन्। खेलाडीको अनुबन्ध रकम रु. ५० हजारदेखि रु. १ लाख २० हजारसम्म रहेको छ।

नेपालको पहिचान झल्काउने ट्रफी

नेपाल भलिबल संघको सहयोगमा आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज भलिबल लिगको ट्रफीमा नेपालको प्राकृतिक, सांस्कृतिक तथा भौगोलिक विविधता समेटिएको आयोजकले जनाएको छ।

‘नेपालको डीएनए’ अवधारणामा तयार पारिएको ट्रफीको डिजाइन एनभीएलका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्यायले गरेका हुन् भने प्रसिद्ध मूर्तिकार रवि शाक्यले निर्माण गरेका हुन्।

ट्रफीको मुख्य संरचना दोहोरो ‘डीएनए हेलिक्स’ ढाँचामा तयार गरिएको छ। यसमा नेपालको हिमाल, जैविक विविधता, संस्कृति, सम्पदा, आध्यात्मिकता र प्रकृतिको प्रतिनिधित्व गरिएको छ।

ट्रफीका दुई स्ट्यान्डमा मिथिला कलामार्फत एकातिर नेपालका जीवजन्तु तथा चराचुरुङ्गी र अर्कोतिर वनस्पति तथा औषधीय जडीबुटीका आकृति समेटिएका छन्। माथिल्लो भागमा आठ हजार मिटरभन्दा अग्ला नेपालका आठ हिमालका प्रतीकात्मक चुचुरा राखिएका छन्।

शीर्ष भागमा अष्टमंगल र त्यसको माथि भलिबल राखिएको छ। ट्रफीभित्र गणेश हिमालबाट ल्याइएको क्वार्ट्ज क्रिस्टललाई पवित्र कमलको फूलमाथि राखिएको छ।

ट्रफीमा राष्ट्रिय चरा डाँफे, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय जनावर गाई र तुलसीलाई समेत समेटिएको छ। पशुपतिनाथ, चाँगुनारायण, बौद्धनाथ, स्वयंभूनाथ, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर र लुम्बिनी गरी आठ प्रमुख ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई पनि ट्रफीमा समावेश गरिएको छ।

आयोजकका अनुसार खेलकुदको उपाधिसँगै नेपालको भूगोल, सभ्यता र सम्पदाको संक्षिप्त यात्रा प्रस्तुत गर्ने उद्देश्यले ट्रफी तयार पारिएको हो।

विजेतालाई २० लाख पुरस्कार

प्रतियोगिताको विजेताले रु. २० लाख नगद पुरस्कार पाउने आयोजक केडिया ग्रुपका प्रबन्ध निर्देशक अश्विन केडियाले जानकारी दिएका छन्। प्रतियोगिताको कुल पुरस्कार राशि रु. ३२ लाख रहेको छ।

बाँकी रु. १२ लाख उपविजेता, विभिन्न सात विधाका उत्कृष्ट खेलाडी तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’का लागि छुट्याइएको छ।

प्रतियोगिताको अन्तिम तयारीबारे आयोजित पत्रकार सम्मेलनमा एनभीएलको मस्कट राष्ट्रिय चरा डाँफे, थिम सङ र प्रायोजकसमेत सार्वजनिक गरिएको छ। थिम सङ अविन शाक्यले कम्पोज गरेका हुन् भने मस्कट रोनिश सुब्बाको डिजाइनमा तयार गरिएको हो।

एनसेल कनेक्टेड रहेको प्रतियोगिताको फ्लोरिङ पार्टनर यती कार्पेट, इन्टरनेट पार्टनर वर्ल्डलिङ्क, एजुकेसन पार्टनर डीएभी स्कुल, इन्सुरेन्स पार्टनर हिमालय लाइफ इन्सुरेन्स, टुरिजम पार्टनर नेपाल टुरिजम बोर्ड, हेल्थ पार्टनर रझान्स आयल र डिजिटल पार्टनर एक्स–ऐज रहेका छन्।

एनभीएलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्यायले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीका कारण देश संकटमा रहेकाले प्रतियोगिताको उद्घाटन कार्यक्रम सामान्य रूपमा आयोजना गरिने बताए।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बाढीपीडितको सहयोगमा केडिया ग्रुपले देखाएको अग्रसरता प्रशंसनीय रहेको बताउँदै नेपालको राष्ट्रिय खेल भलिबललाई व्यावसायिकतातर्फ अघि बढाउन निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे।

प्रतिक्रिया