भोटेकोशी बाढीमा १ हजार ३३१ शव फेला, ५ हजार अझै सम्पर्कविहीन
nepalkuro.com
२१ भदौ २०८३, आईतबार
काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको छ । बाढीमा परी करिब ५ हजार जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
विनाशकारी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन् । प्राधिकरणले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार फेला परेका शवमध्ये सबैभन्दा बढी चितवनमा ३६० वटा रहेका छन् ।
त्यस्तै नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २१९, नुवाकोटमा १९५, रसुवामा १५६, गोरखामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ वटा शव फेला परेका छन् । हालसम्म फेला परेकामध्ये ९८ वटा शवको मात्र सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बेपत्ता हुनेमा नुवाकोटका करिब २ हजार ३४० जना, रसुवाका १ हजार ९६७ जना, ५८९ जना विदेशी नागरिक तथा १०० जना सुरक्षाकर्मी र सरकारी कर्मचारी रहेका छन् ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार १०१ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये नेपाली सेनाले ४ हजार १६२, नेपाल प्रहरीले ४ हजार ६८ र सशस्त्र प्रहरी बलले ४ हजार ८७१ जनाको उद्धार गरेको जनाएको छ ।
बाढीका कारण घाइते तथा प्रभावित भएका ५ हजार ९२९ जनाको उपचार गरिएको छ । जसमध्ये नेपाली सेनाबाट ३ हजार २९७, सशस्त्र प्रहरीबाट २ हजार ३१६ र विभिन्न अस्पतालमा ३१६ जनाले स्वास्थ्योपचार सेवा लिएका छन् ।
विस्थापित प्रभावितका लागि काठमाडौं, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ४१ वटा होल्डिङ सेन्टरमा ३ हजार ९८२ जना सुरक्षित आश्रय लिएर बसिरहेका छन् । विस्थापितहरूलाई राहत तथा पुनर्स्थापनाका लागि सरकारी निकायहरू निरन्तर खटिरहेका छन् ।