तीन दशकदेखि अलपत्र सर्लाहीको सिँचाइ ब्यारेज, नहर नहुँदा किसान आकाशे पानीको भरमा
nepalkuro.com
१९ भदौ २०८३, शुक्रबार
सर्लाही– सर्लाहीको बलरामा ठूलो धनराशि खर्च गरेर निर्माण गरिएको सिँचाइ ब्यारेज तीन दशक बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। व्यवस्थित नहरको अभावमा बलरा नगरपालिका–१० र रामनगर गाउँपालिका–१ को सीमाना सुदामामा निर्माण गरिएको ब्यारेज ३१ वर्षदेखि अलपत्र अवस्थामा छ।
बाह्रै महिना पानी बग्ने एकादशी खोलामा २०५२ सालमा रु. ६ करोडको लागतमा ब्यारेज निर्माण गरिएको थियो। सुदामा, छोटउल, अचलगढ, बलरा अर्नाह, मिर्जापुर, छतौना, खेअर्वा, रामनगर बहुअर्वालगायत साविकका दर्जनभन्दा बढी गाविसका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माण गरिएको ब्यारेज प्रयोगमै नआएर अलपत्र बनेको हो।
कृषिका लागि उर्वर मानिने यस क्षेत्रमा भरपर्दो सिँचाइ सुविधा नहुँदा किसान वर्षाको पानीको भरमा खेती गर्न बाध्य छन्। बलरा नगरपालिका–५ मिर्जापुरका किसान शंकर साहका अनुसार यस क्षेत्रका सयौँ बिघा खेतीयोग्य जमिन वर्षायाममा जलमग्न हुने र हिउँदमा खण्डहरजस्तै बन्ने गरेको छ।
“ब्यारेजसँग जोडिएको एउटा नहर छ, त्यो पनि अव्यवस्थित छ,” उनले भने। नहरबाट आएको पानी वर्षायाममा अनियन्त्रित भएर ब्यारेज नजिकका केही किसानको खेतसम्म पुग्ने गरेको उनले बताए। बाँकी क्षेत्रका किसानले पम्पसेट र विद्युत् मोटरको भरमा खेती गर्नुपरेको उनको गुनासो छ।
यसरी गरिने खेतीसमेत मौसम प्रतिकूल हुँदा नोक्सान हुने गरेको किसान साहले बताए। ब्यारेज निर्माण गरिएको स्थान जिल्लाको दक्षिणपश्चिम क्षेत्रमा पर्छ। उत्तरी क्षेत्र रामनगर गाउँपालिकाका भूभागमा भने ब्यारेजबाट सिँचाइ पुर्याउन नसकिएको स्थानीय जनप्रतिनिधिको भनाइ छ।
रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवका अनुसार भूभागको भौगोलिक बनोटका कारण ब्यारेजबाट रामनगरतर्फ पानी लैजान सम्भव भएको छैन।
“यहाँको भूभाग कोल्टे पर्छ। सुरुमा हालको रामनगर र बलराका लागि भनेर ब्यारेज निर्माण भएको देखिन्छ। गलत ठाउँमा परेकाले रामनगरका किसानका लागि त्यो उपयुक्त भएन। ब्यारेजबाट पानी उत्तरतर्फ आउँदैन,” उनले भने।
उनका अनुसार अहिले सोही खोलाको माथिल्लो स्थानमा बाँध निर्माण गरेर रामनगर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने प्रयास भइरहेको छ।
नहर निर्माण गरी व्यवस्थित गर्न सके हालको बलरा नगरपालिकाका सम्पूर्ण खेतीयोग्य भूभागमा सिँचाइ सुविधा पुर्याउन सकिने नगरप्रमुख रामाशंकरप्रसाद कुशवाहाले बताए। ब्यारेज नै अलपत्र परेका कारण समस्या भएको उनको भनाइ छ।
ब्यारेजको संरक्षण तथा स्वामित्व कसैले नलिएका कारण संरचना जीर्ण बन्दै गएको नगरप्रमुख कुशवाहाले स्वीकार गरे। आफू नगरप्रमुख भएर आएपछि बजेट विनियोजन गरेर ब्यारेजको सामान्य मर्मतसम्भार गरिएको उनले बताए।
नगरपालिकाले गत आर्थिक वर्षको बजेटमा ब्यारेज मर्मत तथा सौन्दर्यीकरणका लागि बजेट विनियोजन गरेको थियो। ब्यारेज र त्यस आसपासको पार्कलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने नीति लिइएको नगरप्रमुख कुशवाहाले बताए।
उनका अनुसार सङ्घ र प्रदेश सरकारसँग ब्यारेज व्यवस्थापन तथा नहर निर्माणको योजना पेस गरिएको छ। गत आर्थिक वर्षमा प्रदेश र सङ्घीय सरकारले ब्यारेजका लागि रु. ५ करोड बजेट उपलब्ध गराए पनि समयमा काम हुन नसक्दा उक्त रकम फिर्ता गएको उनले बताए।
यस वर्ष विनियोजन भएको रु. २ करोड बजेटबाट नहर निर्माणको काम अघि बढाउने तयारी गरिएको नगरप्रमुख कुशवाहाले जानकारी दिए। ब्यारेज व्यवस्थापनका लागि प्रदेश तथा सङ्घीय सरकारसँग पटकपटक आग्रह गरे पनि हालसम्म प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ।
ठूलो भूभागमा सिँचाइ सुविधा पुर्याउन सक्ने संरचना वर्षौँदेखि प्रयोगमा ल्याउन नसक्नु दुःखद् भएको नगरप्रमुख कुशवाहाले बताए।
तर, स्थानीय किसानहरूले भने किसानको सुविधाका लागि आएको बजेटसमेत प्रभावकारी रूपमा उपयोग हुन नसकेको आरोप लगाएका छन्। खेत नजिकै बाह्रै महिना खोला बग्ने भए पनि आफूहरूले महँगोमा डिजेल मोटर प्रयोग गरेर सिँचाइ गर्नुपर्ने बाध्यता रहेको किसान गगनदेव सिंहले बताए।
“खेत नजिकै बाह्रै महिना खोला बग्छ, तर हामीले महँगोमा डिजेल मोटर चलाएर पानी तान्नुपर्छ,” उनले गुनासो गरे।
पालले सिँचाइ ब्यारेज व्यवस्थित गरेर किसानको खेतसम्म पानी पुर्याउनुको साटो पार्क निर्माणमा खर्च गरेको उनको आरोप छ।
स्थानीय किसानहरूले ब्यारेज मर्मत गरी पक्की नहरको व्यवस्था गरेर नियमित सिँचाइ सुविधा उपलब्ध गराउन माग गरेका छन्। किसानले सुविधा नपाउने र राज्यको ठूलो लगानीसमेत खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने उनीहरूको भनाइ छ।