जेन–जी आन्दोलनमा दमन गर्नेहरूमाथि तत्काल कारबाही गर्न ऋषि धमलाको माग
nepalkuro.com
२३ भदौ २०८३, मङ्गलबार
काठमाडौं– पत्रकार ऋषि धमलाले जेन–जी आन्दोलनका क्रममा दमन तथा गोली चलाउनेहरूमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्।
जेन–जी आन्दोलनको प्रथम शहीद स्मृति दिवसका अवसरमा बोल्दै धमलाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आन्दोलनका क्रममा गोली चलाउँदा युवाहरूको ज्यान गएको दाबी गरे। यस्तो घटनामा संलग्नलाई कारबाही गरी जेल पठाउनुपर्ने उनको भनाइ छ।
उनले गृहमन्त्री सुधन गुरुङलाई आन्दोलनका क्रममा भएका घटनाको छानबिन तथा दोषीमाथि कारबाहीका लागि साहसका साथ अघि बढ्न आग्रह गरे।
‘जब सम्म यी शहीदहरूको आत्माले ती हत्याराहरूलाई कारबाही भएको देख्दैन, उनीहरूको मनमा शान्ति हुँदैन,’ उनले भने।
धमलाले सरकारप्रति जनताको अपेक्षा पूरा गर्न सुशासन, विकास र प्रगतिका क्षेत्रमा प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए।
‘मेरो आग्रह छ, गृहमन्त्री, हिम्मत गर्नुहोस्। देशले सुशासन खोजेको छ, देशले विकास खोजेको छ, देशले प्रगति खोजेको छ र देशले बालेन्द्र शाहको नेतृत्व सरकारलाई जनताको समर्थन छ,’ उनले भने, ‘यो सरकार देश र जनताको पक्षमा काम गर्न सक्छ भन्ने तपाईंले अब जनतालाई आश्वस्त पार्नुपर्छ, जेन–जीहरूलाई आश्वस्त पार्नुपर्छ।’
धमलाले आन्दोलनका क्रममा घाइते भएका जेन–जीहरूको उपचार स्वदेशमा सम्भव नभए विदेशमा लगेर भए पनि गर्नुपर्ने माग गरे। शहीद परिवारलाई रोजगारी तथा सम्मान र घाइतेहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन उनले सरकारको ध्यानाकर्षण गराए।
उनले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै सुशासन र विकासको प्रत्याभूति दिनसमेत सरकारसँग आग्रह गरे।