जसपा नेपालकी प्रदेशसभा सदस्य अम्बिका काफ्ले पदमुक्त
nepalkuro.com
२५ भदौ २०८३, बिहिबार
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले पदमुक्त भएकी छन्।
प्रदेशसभा सचिवालयले बुधबार सूचना प्रकाशित गर्दै काफ्ले पदमुक्त भएको जानकारी दिएको हो। प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले काफ्ले पदमुक्त भएको पुष्टि गरेका छन्।
जसपा नेपाल लुम्बिनी प्रदेशसभा संसदीय दलको निर्णय तथा सिफारिसका आधारमा पार्टी केन्द्रीय समितिले काफ्लेलाई प्रदेशसभा सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो।
प्रदेशसभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १९६ बमोजिम दल त्यागसम्बन्धी सूचना प्रकाशित गरिएको सचिव पुनमगरले बताए।
उनका अनुसार काफ्लेले जसपा संसदीय दलको ह्विप उल्लंघन गरेपछि पार्टीले स्पष्टीकरण सोधेको थियो। उक्त स्पष्टीकरण केन्द्रमा पठाइएको र केन्द्रीय समितिले कारबाही गर्ने निर्णय गरेपछि सभामुख तुलाराम घर्तीको निर्देशनअनुसार उनलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको हो।