वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्।
कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ४५ दिनको पुण्यतिथिमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै उनले पार्टीलाई मजबुत बनाउन सभापतिको हैसियतले जिम्मेवारपूर्वक अगाडि बढ्ने बताए।
“पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु,” उनले भने, “नरम पनि छु र पार्टीभित्र भएका कमी कमजोरीहरूलाई हटाएर निर्मम पनि भएर अगाडि बढ्नुपर्ने छ। त्यो सजिलो छैन, र पनि पार्टी हितका सन्दर्भमा निर्मम भएर लाग्छु।”
पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने जिम्मेवारीलाई बुझेर सोहीअनुसार अगाडि बढ्न आफू लागिपर्ने उनले बताए। देशमा आइपरेका जटिल समयमा कांग्रेस जिम्मेवार भएर समस्या समाधान गर्दै आएको उल्लेख गर्दै सभापति थापाले नागरिकमाझ विश्वास र भरोसा जगाउनुपर्नेमा जोड दिए।स्वर्गीय श्रेष्ठले पार्टीलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो।
विपद्को समयमा सरकारको टिप्पणी गर्ने उपयुक्त समय नभएको पनि सभापति थापाले बताए।
शोकसभामा कांग्रेस महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायत वक्ताहरूले स्वर्गीय श्रेष्ठले पार्टीप्रति खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गरेका थिए।