हुम्ला– अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि सञ्चालनमा नआउँदा स्थानीय सञ्चार सेवाबाट वञ्चित भएका छन्।
टावर बन्द भएपछि मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावित हुँदा फोन सम्पर्क तथा सूचना आदानप्रदानमा समस्या भएको स्थानीय बालबहादुर मल्लले बताए। उनका अनुसार एक सातादेखि टावर बिग्रिएपछि बिरामी तथा आपत्कालीन अवस्थामा आफन्तसँग सम्पर्क गर्नसमेत कठिनाइ भइरहेको छ।
स्थानीयले यथाशीघ्र टावर मर्मत गरी सञ्चार सेवा नियमित गर्न माग गरेका छन्। उक्त टावरले हुम्लाको अदानचुली गाउँपालिका तथा मुगुको सोरु गाउँपालिका आसपासका क्षेत्रमा सञ्चार सम्पर्क स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
नेपाल टेलिकम हुम्लाका सूचना अधिकारी रामबहादुर बोहोराका अनुसार पछिल्लो समय लामो समयसम्म घाम नलाग्दा सोलारमा पर्याप्त चार्ज हुन नसकेपछि टावर सञ्चालनमा समस्या आएको हो।
उनका अनुसार केन्द्रीय कार्यालयको प्राविधिक शाखाबाट समेत टावरको अवस्थाबारे परीक्षण गरिएको थियो। सोलारमा आवश्यक पावर सञ्चित हुन नसकेकै कारण टावर सञ्चालनमा आउन नसकेको जानकारी प्राप्त भएको उनले बताए।
सूचना अधिकारी बोहोराका अनुसार सोलारमा कम्तीमा ४८ घण्टासम्म राम्रोसँग चार्ज भए टावर आफैँ सञ्चालनमा आउनेछ। जिल्ला सदरमुकाम सिमकोटमा समेत सोलारमा आवश्यक पावर नहुँदा दैनिक ६ देखि ८ घण्टासम्म सञ्चार सेवा अवरुद्ध हुने गरेको उनले जानकारी दिए।