नारायणगढ– भोटेकोशी बाढीपहिरोका कारण देश शोक र पीडामा रहेकाले चेपाङ समुदायले यस वर्ष आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व छोनाम (न्वागी) घरघरमै मनाएका छन्।
विगतका वर्षमा सामूहिक रूपमा भेला भएर न्वागी मनाउँदै आएको चेपाङ समुदायले यस वर्ष भने तडकभडक तथा औपचारिक कार्यक्रम नगरी आ–आफ्नो घरमा गच्छेअनुसार पर्व मनाएको नेपाल चेपाङ सङ्घले जनाएको छ।
हरेक वर्ष भदौ २२ गते विशेष रूपमा मनाइने न्वागी चेपाङ समुदायको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व हो। नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले देशमा परेको विपत्तिलाई ध्यानमा राख्दै यस वर्ष सामूहिक कार्यक्रम आयोजना नगरिएको बताए।
“तडकभडक नगरी यस वर्ष न्वागी आ–आफ्नो घरमा मनायौँ। देशमा भएको घटनाले गर्दा हामीले सामूहिक कार्यक्रम गरेनौँ,” उनले भने।
धार्मिक तथा सांस्कृतिक विधि भने घरघरमै निरन्तरता दिइएको उनले बताए। चेपाङ समुदायमा भदौ महिनालाई विशेष मानिन्छ र भदौभरि आफ्नो अनुकूल समयमा न्वागी मनाउने चलन रहेको छ।
नयाँ अन्नबाली तथा फलफूल पाक्न थालेपछि प्रकृति, भूमि र पितृलाई अर्पण गरेर मात्र उपभोग गर्ने परम्परासँग न्वागी जोडिएको छ। पाखापखेरामा लगाइएको मकै, घैया धानलगायत नयाँ अन्नबाली तथा विभिन्न फलफूल पाक्ने समयमा घरघरमा धार्मिक तथा सांस्कृतिक विधि सुरु गर्ने गरिन्छ।
न्वागीको अघिल्लो रात चेपाङ समुदायका झाँक्री (पान्दे) ले फलाक्ने, जाग्राम बसेर पूजा गर्ने, पितृको स्मरण तथा आह्वान गर्ने परम्परा छ। त्यसपछि नयाँ उब्जनी भएका अन्न तथा फलफूल पितृ र देवतालाई चढाइन्छ। पूजापछि पान्देले परिवारलाई आशीर्वाद दिने चलन छ।
न्वागीमा घैया धान आवश्यक मानिन्छ। त्यसबाहेक गाभा, पिँडालु, घिरौँला, निबुवा, कागतीलगायत नयाँ उब्जनी भएका फलफूल तथा तरकारीसमेत चढाउने गरिन्छ। नयाँ अन्नबाली भूमि र पितृलाई अर्पण गरेपछि मात्र उपभोग गर्ने परम्परा रहेको छ।
सङ्घका महासचिव सन्तबहादुर चेपाङले यस वर्ष औपचारिक कार्यक्रम नगरी घरघरमै आफन्त भेटघाट गरेर न्वागी मनाइएको बताए।
“यसपालि हामीले सामूहिक कार्यक्रम गरेनौँ। आ–आफ्नो घरमा आफन्त भेटघाट गरेर मिठोमसिनो खाँदै न्वागी मनाइरहेका छौँ,” उनले भने।
उनका अनुसार न्वागी चेपाङ समुदायको परम्परागत पर्व भएकाले मनाउनैपर्ने भए पनि देश विपत्तिमा परेका कारण गत वर्षजस्तो उत्साहका साथ मनाउने अवस्था रहेन।
सङ्घकी सदस्य दीपा चेपाङले बाढीका कारण यस वर्ष तय गरिएको सामूहिक कार्यक्रम हुन नसकेको बताउँदै घरघरमै विधिपूर्वक न्वागी मनाइएको जानकारी दिइन्।
इच्छाकामना गाउँपालिका–२ मायाटारका शिक्षक पदमबहादुर प्रजाले पनि यस वर्ष उत्साहका साथ न्वागी मनाउने वातावरण नरहेको बताए। उनका अनुसार न्वागी चेपाङ समुदायको मुख्य पर्व भएकाले यसको निरन्तरता कायम राख्दै भावी पुस्तामा यसको महत्व हस्तान्तरण गर्न पर्व मनाउनु आवश्यक छ।
चेपाङ समुदाय प्रकृति र धर्तीपूजक समुदायका रूपमा चिनिन्छ। घैया धान, मकै, पिँडालु, गाभा तथा विभिन्न फलफूललगायत नयाँ उब्जनी भूमि र पितृलाई चढाएर मात्र खाने परम्परा समुदायमा रहिआएको छ।
भदौभरि अनुकूल समयमा न्वागी मनाउने चलन भए पनि ‘भदौको बिस बाइस’ भन्ने परम्पराअनुसार भदौ २२ गतेलाई न्वागीको मुख्य दिन मान्ने गरिन्छ।
पछिल्लो समय नयाँ पुस्तामा न्वागीको महत्व क्रमशः घट्दै गएको तथा समुदायभित्र धर्म परिवर्तनका कारण मौलिक धर्म, संस्कृति र परम्परा लोप हुने अवस्था देखिन थालेको भन्दै चेपाङ अगुवाले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले समुदाय एकजुट भएर आफ्नो मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।