भोटेकोशी बाढीपछि सप्तरीका तीन मजदुर १० दिनदेखि सम्पर्कविहीन, परिवारमा चुलो बल्नै छाड्यो

nepalkuro.com

सप्तरी– सप्तरीका बेचन सदा भोटेकोशी बाढीपछि परिवारको सम्पर्कमा नआएपछि उनका चार सन्तान बिचल्लीमा परेका छन्।

आमा हुलियादेवी सदाको क्यान्सरका कारण मृत्यु भएको र १० दिनदेखि बुबासमेत सम्पर्कविहीन भएपछि आफूहरू दुई दाजुभाइ र दुई दिदीबहिनी बिचल्लीमा परेको बेचनकी कान्छी छोरी नौ वर्षीया विभा सदाले बताइन्।

उनका अनुसार दुई महिनाअघि बेचन त्रिशूली जलविद्युत् पावर हाउसमा कामदारका रूपमा काम गर्न गएका थिए। आमाको उपचारका क्रममा लागेको ऋण तिर्न रोजगारीका लागि उनी रसुवा पुगेका थिए।

‘हामी कसको सहारामा बस्ने ?’ विभाले प्रश्न गरिन्।

बेचनका १८ र २० वर्षका दुई छोरीको विवाह भइसकेको छ। १३ वर्षीय छोरा सुभाष सदा भने आफन्तको सहयोगमा बाबुको खोजीका लागि रसुवा पुगेका छन्।

त्रिशूली थ्रिवी पावर हाउसमा कामदारका रूपमा कार्यरत बेचनसँगै सोही ठाउँका सुरेन्द्र सदा र शिवकुमार सदा पनि भोटेकोशीमा आएको बाढीपछि १० दिनदेखि सम्पर्कविहीन छन्।

शिवकुमारका चार जना छोराछोरी छन्। उनका बुबाआमा वृद्ध छन् भने पत्नीसमेत बिरामी छन्। घरको एक्लो कमाउने व्यक्ति नै सम्पर्कविहीन भएपछि परिवारमा झन् ठूलो संकट परेको छ।

शिवकुमारकी पत्नी गुडिया सदाका अनुसार सात सदस्यीय परिवारको आहारासमेत खोसिएको छ। श्रीमान् सम्पर्कविहीन भएपछि परिवारको दैनिकी चलाउन कठिन भएको उनले बताइन्।

सुरेन्द्र सदाका पनि तीन छोराछोरी छन्। कमाउने मुख्य सहारा नै सम्पर्कविहीन भएपछि घरमा चुलो बल्न छाडेको उनकी पत्नी द्रोपतीदेवी सदाले बताइन्।

सोही बस्तीका अर्का युवा अरुण सदा भने बाढी आउनुभन्दा एक साताअघि घर आएका थिए। उनी पुनः काममा फर्कने तयारीमा थिए। तर, अचानक भोटेकोशीमा बाढी आएको खबर पाएपछि उनले फर्कने योजना रोके।

सदा (मुसहर) बस्तीका तीन युवा एकैपटक सम्पर्कविहीन भएपछि गाउँ नै शोकमा डुबेको छ। कमाउन गएका परिवारका सदस्य बेपत्ता भएपछि घरमा वृद्ध आमाबुबा, बिरामी श्रीमती र बालबालिकाको भविष्यसमेत अन्योलमा परेको छ।

प्रतिक्रिया