बडिमालिका पूजाका लागि मुख्यमन्त्री भट्टले पठाए पेटारो, भदौ ११ गते मुख्य पूजा

nepalkuro.com

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरास्थित प्रसिद्ध धार्मिकस्थल बडिमालिकामा हुने भगवती माताको विशेष पूजाआजाका लागि परम्परागत पेटारो पठाएका छन्।

धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आज विधिपूर्वक पूजाअर्चना गरी परम्पराअनुसार पेटारोलाई बडिमालिकातर्फ पठाइएको हो।

सुदूरपश्चिमको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बडिमालिका भगवतीको पूजाका लागि प्रदेश सरकारका मन्त्री तथा अन्य सरोकारवाला व्यक्तिको उपस्थितिमा विशेष पूजा गरिएको थियो।

बडिमालिका भगवतीको पूजाका लागि सरकारका तर्फबाट पेटारो पठाउने परम्परा लामो समयदेखि चलिआएको छ। पेटारोमा भगवतीलाई चढाइने विशेष पूजासामग्री राखिने र सरकारी पूजा टोली पैदलयात्रामार्फत बडिमालिका पुगेर परम्परागत विधिअनुसार पूजा गर्ने प्रचलन रहेको छ।

बडिमालिका पुगेपछि डोटी, बाजुरा र जुम्लाबाट आएका सरकारी पूजा टोलीबीच समन्वय गरी मुख्य पूजामा सहभागी हुने परम्परा छ। यस वर्ष बडिमालिकामा भदौ ११ गते मुख्य पूजा तथा मेला आयोजना हुँदैछ।

दर्शनार्थीको बढ्दो चापलाई ध्यानमा राख्दै भदौ १ गतेदेखि नै बडिमालिका क्षेत्रमा पूजा तथा मेला सुरु भइसकेको छ। धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यका कारण पनि बडिमालिकामा हरेक वर्ष ठूलो सङ्ख्यामा भक्तजन तथा दर्शनार्थी पुग्ने गर्छन्।

मुख्यमन्त्री भट्टले पेटारो पठाउने परम्पराले बडिमालिका भगवतीप्रतिको धार्मिक आस्था मात्र नभई सुदूरपश्चिमको इतिहास, संस्कृति र मौलिक परम्परालाई समेत जीवन्त राख्दै आएको बताए।

राज्यस्तरबाट निरन्तरता दिइँदै आएको यस परम्पराको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ छ।

प्रतिक्रिया