एसिसी प्रिमियर कपमा आज नेपालले आयोजक मलेसियासँग खेल्दै
nepalkuro.com
१८ भदौ २०८३, बिहिबार
काठमाडौँ– एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा नेपालले आज आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताको आफ्नो पहिलो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ।
नेपाल र मलेसियाबीचको खेल बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुँदैछ।
प्रतियोगितामा सहभागी १० टोलीलाई पछि पार्दै उपाधि जितेर सन् २०२७ मा हुने एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ नेपाल प्रतियोगितामा सहभागी भएको हो।
नेपाल समूह ‘ए’ मा रहेको छ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्।
मलेसियाविरुद्ध नेपाल बलियो अवस्थामा
पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल मलेसियासँग अपराजित रहेको छ। प्रतियोगिताअघि भएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो।
नेपालले बहराइनविरुद्धको पहिलो खेलमा सात विकेटको सहज जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो। बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो।
मलेसियाविरुद्धको खेलमा पनि त्यही लयलाई निरन्तरता दिने नेपालको लक्ष्य छ।
समूह चरणमा नेपालले मलेसियापछि भदौ २१ गते साउदी अरेबिया र भदौ २३ गते हङकङसँग खेल्ने तालिका छ।
दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको विजेता टोलीले सन् २०२७ को एसिया कपमा सिधै स्थान बनाउनेछ।