डडेल्धुरा – सुदूरपश्चिमको मौलिक तथा महत्वपूर्ण पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ। भाद्र शुक्लपक्ष पञ्चमीका दिन घरघरमा बिरुडा राखेर गौरा पर्वको सुरुवात गरिन्छ। आजको दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ।
बिरुडा पञ्चमीका दिन व्रतालु महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस गरी पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाउने चलन छ। तामाको भाँडोलाई गोबरले लिपेर दुबो र अक्षताले सिँगार गरी त्यसमा पञ्च अन्न भिजाएर बिरुडा तयार गरिन्छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ भने गौरादेवीको पूजाआजामा समेत यसको प्रयोग गरिन्छ।
आलिताल, डडेल्धुराका ७८ वर्षीय खगेस्वरी भट्टका अनुसार पुत्रदा एकादशीको व्रतपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा सुरु हुने परम्परा छ। उनका अनुसार महिलाले बिरुडा भिजाउने क्रममा डोटेली भाषामा सगुन तथा फाग गाउने चलनसमेत रहेको छ।
संस्कृतिका जानकार मुरलीधर अवस्थीका अनुसार बिरुडा भिजाउने क्रममा गाइने फागमा गौरा पर्वको धार्मिक तथा सांस्कृतिक कथासमेत प्रस्तुत गरिन्छ। यसमा गौराले महादेवसँग बिरुडाका लागि आवश्यक अन्न तथा गेडागुडी खोजेर ल्याउन आग्रह गरेको प्रसङ्ग जोडिएको हुन्छ।
भिजाइएको बिरुडा षष्ठीका दिन पखाल्ने गरिन्छ। सप्तमी र अष्टमीलाई गौराका विशेष दिन मानिन्छ। सप्तमीका दिन धान खेतमा उम्रिएको साउँबाट गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याउने परम्परा छ।
व्रतालु सरस्वती अवस्थीका अनुसार गौरा महिलाले पुरुषले यज्ञोपवीत लगाएझैँ दुबधागो धारण गर्ने महत्वपूर्ण पर्व पनि हो। गौराको पूजाआजा गर्दा श्रीमान् तथा परिवारका सदस्य निरोगी र दीर्घायु हुने तथा घरपरिवारमा सुख–समृद्धि कायम हुने धार्मिक विश्वास छ।
गौराष्टमीका दिन पूजाआजा तथा मङ्गलगान गर्दै गौरा नचाउने गरिन्छ। गौरालाई गौराघरको आँगनमा राखेर अठवाली गीत, चैत, धमारी तथा राजा–महाराजाका वीरगाथासहितका गीतमा नचाउने परम्परा छ। यसै दिनदेखि सुदूरपश्चिमका विभिन्न स्थानमा देउडा खेल्ने चलन पनि रहेको छ।
प्राचीनकालदेखि पर्वतराज हिमालय र मेनकाकी पुत्री तथा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरी अर्थात् गौरा देवीका रूपमा पूजा गर्दै आएको पाइन्छ। स्थानीय लोकपरम्परा र संस्कृतिअनुसार शिव–गौरीको पूजा गरिने पर्व नै गौरा हो।
अगस्ति ताराको उदयका आधारमा गौरा शुक्ल वा कृष्ण दुवै पक्षमा पर्ने गर्छ। शुक्ल पक्षमा परेको गौरालाई ‘उज्याली गौरा’ र कृष्ण पक्षमा परेको गौरालाई ‘अन्यारी गौरा’ भनिन्छ। दुवै गौरालाई पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्व दिने गरिन्छ।
गौरा पर्वको अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएका छन्। देउडा, डुस्को, धुमारीलगायतका लोकसंस्कृति र सांस्कृतिक गतिविधिले सुदूरपश्चिममा पर्वको रौनक बढेको छ।