एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले दिए राजीनामा, पार्टीभित्रको शक्ति संघर्षसँग जोडेर हेरियो
nepalkuro.com
१९ भदौ २०८३, शुक्रबार
काठमाडौँ– नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पदबाट राजीनामा दिएका छन्।
निरौलाले बिहीबार नैकापस्थित गोल्डस्टार पार्टी प्यालेसमा आयोजित जिल्ला कमिटीको बैठकमा आफ्नो राजीनामा घोषणा गरेका हुन्। बैठकमा एमाले सचिव डा. राजन भट्टराई तथा काठमाडौं जिल्ला इन्चार्ज रामेश्वर फुयाँल पनि उपस्थित थिए।
निरौलाले बैठकको सुरुवातमा आफ्नो कार्यकालमा भएका उपलब्धिबारे जानकारी गराएका थिए। तर, बैठकको अन्त्यमा उनले अचानक अध्यक्ष पदबाट राजीनामा घोषणा गरेपछि सहभागी जिल्ला कमिटीका सदस्यहरू अचम्मित र स्तब्ध बनेको एक जिल्ला कमिटी सदस्यले बताएका छन्।
दुईपटक जिल्ला नेतृत्व सम्हालेका निरौलाले आफ्नो धारणा राखिसकेपछि अध्यक्ष पदबाट राजीनामा दिएका हुन्। एमाले काठमाडौं जिल्ला कमिटीभित्र पछिल्लो समय जिल्ला प्रतिनिधि परिषद्को कार्यक्रममा कार्यकर्ता तथा समर्थकको उपस्थिति गराउने विषयलाई लिएर समेत लामो समयदेखि विवाद हुँदै आएको बताइएको छ।
निरौलाको राजीनामालाई एमालेभित्रको पछिल्लो शक्ति संघर्षसँग जोडेर समेत हेरिएको छ। बैठकमा उपस्थित सचिव डा. भट्टराई र जिल्ला इन्चार्ज फुयाँल अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् भने निरौला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट नेताका रूपमा चिनिँदै आएका छन्।
पार्टीभित्र नेतृत्व परिवर्तनको बहस उठाउने जिल्ला कमिटी अध्यक्षमध्ये निरौला प्रमुख नेताका रूपमा रहेका थिए। उनी एमालेभित्रको दुई लाइन संघर्षमा भण्डारी पक्षमा सक्रिय थिए।
गत भदौमा भएको जेन–जी आन्दोलन र फागुन २१ गतेको निर्वाचनपछि समेत पार्टी नेतृत्वको आलोचना तथा नेतृत्व परिवर्तनको बहसबाट पछि नहटेपछि अध्यक्ष ओली र बागमती प्रदेश इन्चार्ज महेश बस्नेतलगायतबाट निरौलालाई पद छाड्न दबाब परेको स्रोतको दाबी छ।
पछिल्लो समय अध्यक्ष ओलीले पार्टीभित्र आफूलाई प्रश्न गर्ने नेताहरूलाई नियन्त्रणमा राख्ने रणनीति अघि बढाएको चर्चा एमालेभित्र हुने गरेको छ। यही सन्दर्भमा उपाध्यक्ष विष्णुप्रसाद पौडेललगायतका नेतामाथि दबाब बढाइएको र महासचिव शंकर पोखरेलसमेत तत्काल नेतृत्व परिवर्तनको बहसबाट पछि हटेको बताइएको छ।
यसअघि निरौला २०७१ जेठ २९ गते भएको निर्वाचनबाट एमाले काठमाडौं जिल्ला कमिटीको अध्यक्षमा पुनः निर्वाचित भएका थिए। उनले ३७० मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी निर्मल देउलाले १९१ मत प्राप्त गरेका थिए।