मिनियापोलिसमा अपार्टमेन्टभित्र गोली चल्दा दुई जनाको मृत्यु, संदिग्ध पनि मारिए

nepalkuro.com

एजेन्सी– अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित एक अपार्टमेन्ट भवनमा बुधबार गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने गोली चलाउने संदिग्ध पनि मारिएका छन्। घटनामा दुई प्रहरी अधिकारीसहित पाँच जना घाइते भएका छन्।

अपराह्न ४ः३० बजेपछि गोली चलेको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो। अपार्टमेन्टको माथिल्लो तलामा थप गोली चलेपछि पुगेका प्रहरीलाई बाक्लो धुवाँका कारण उद्धार तथा कारबाहीमा कठिनाइ भएको अन्तरिम प्रहरी प्रमुख बिल पिटरसनले बताएका छन्।

घटनामा घाइते भएका प्रहरी अधिकारीहरूको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ। मृतकमध्ये एक जनाको घटनास्थलमै र अर्काको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। गोली चलाउने संदिग्धको पहिचान र मृत्युको कारण भने तत्काल खुलाइएको छैन। प्रत्यक्षदर्शीहरूले गोली चलाउने व्यक्ति अपार्टमेन्टकै बासिन्दा हुन सक्ने र उनले यसअघि पनि हतियार प्रदर्शन गर्ने गरेको बताएका छन्। घटनापछि प्रहरीले लोरिङ पार्क क्षेत्रका बासिन्दालाई घटनास्थलबाट टाढा रहन आग्रह गरेको थियो।

मिनेसोटाका गभर्नर टिम वाल्जले घटनामा स्थानीय प्रहरीलाई राज्यका अधिकारीहरूले आवश्यक सहयोग गरिरहेको बताएका छन्। घटनाको अनुसन्धानमा संघीय अनुसन्धान ब्युरो (एफबिआई) समेत संलग्न भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया