लुम्बिनीका निजी अस्पतालको नवीकरण अवधि पाँच वर्ष बनाउन माग
nepalkuro.com
२२ भदौ २०८३, सोमबार
रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधान संशोधन गरी नवीकरण अवधि तीन वर्षबाट बढाएर पाँच वर्ष कायम गर्न सरकारसँग माग गरेका छन्।
आइतबार बुटवलमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्र पुनसँग भएको भेटमा निजी अस्पताल सञ्चालकले अन्य प्रदेशमा नवीकरणको अवधि बढाइएको उल्लेख गर्दै लुम्बिनीमा पनि सोहीअनुसार व्यवस्था गर्न आग्रह गरेका हुन्।
निजी अस्पताल सञ्चालकले अस्पताल सञ्चालन तथा नवीकरणसम्बन्धी विद्यमान व्यवस्थाका कारण निजी स्वास्थ्य संस्थाले अनावश्यक प्रशासनिक झन्झट व्यहोर्नुपरेको गुनासो गरे। निजी स्वास्थ्य संस्थाको अनुगमन तथा नियमन आवश्यकताअनुसार जुनसुकै समयमा गर्न सकिने भएकाले नवीकरण अवधि बढाउनु व्यावहारिक हुने उनीहरूको भनाइ छ।
पटक–पटक नवीकरणका लागि प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने अवस्थाले स्वास्थ्य सेवा प्रवाहमा समेत असहजता सिर्जना गरेको सञ्चालकहरूले बताए।
तिनाउ अस्पताल बुटवलका पूर्वअध्यक्ष रुद्र कार्कीले निजी स्वास्थ्य संस्थाको नवीकरण अवधि बढाउनेसँगै निजी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकारले स्पष्ट नीति लिनुपर्ने बताए।
निजी अस्पताल तथा स्वास्थ्य संस्थाले प्रदेशको स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै उनले सरकार र निजी क्षेत्रबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताए।
भेटका क्रममा निजी अस्पताल सञ्चालकले नवनियुक्त स्वास्थ्यमन्त्री पुनलाई कार्यकालको शुभकामना दिँदै निजी स्वास्थ्य क्षेत्रसँग सहकार्य गरी देखिने गरी सुधारका काम अघि बढाउन आग्रह गरेका थिए।
उनीहरूले निजी क्षेत्रका स्वास्थ्यकर्मी तथा जनशक्तिका लागि तालिमको व्यवस्था गर्नुपर्ने, अस्पतालजन्य फोहरमैला व्यवस्थापनलाई व्यवस्थित बनाउन सरकारले आवश्यक सहजीकरण गर्नुपर्ने तथा निजी स्वास्थ्य संस्थाका समस्या समाधानका लागि नियमित संवादको व्यवस्था गर्नुपर्ने मागसमेत राखेका थिए।
निजी अस्पताल सञ्चालकले राखेका माग तथा सुझावका विषयमा मन्त्री पुनले आवश्यक छलफल र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।