उनले विगतमा दलहरूले गरेको गल्तीबाट आफूहरूले पाठ सिक्ने बताए ।
nepalkuro.com
२३ भदौ २०८३, मङ्गलबार
काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफूहरू पुराना राजनीतिक दलसँग राजनीति सिक्न नभई सिकाउन आएको बताएका छन्। पुराना दलले गर्दै आएको शैलीको राजनीति गर्न आफूहरू तयार नरहेको उनको भनाइ छ।
मंगलबार आयोजित जेन–जी स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले आफूहरू दुई तिहाइ मत लिएर सरकारमा आएको भन्दै जनताको विश्वासलाई नबिर्सन आग्रह गरे।
‘हामी राजनीति सिकाउन आएको हो, सिक्न आएको होइन। हामी सेवा गर्छौं, यही हो राजनीति। तपाईंहरूलाई संस्कार सिकाउन आएको,’ मन्त्री गुरुङले भने, ‘दुई तिहाइ ल्याएर सरकारमा आएको हो, चेतना भया! यो आवाज सुधनले बोलेको होइन, यो आवाज नेपाली जनताको आवाज हो।’
मन्त्री गुरुङले पुराना राजनीतिक दलले आफूहरूलाई राजनीति सिकाउन आवश्यक नरहेको बताए। जनताको आवाज दबाउँदा त्यसको परिणाम अहिले सबैका अगाडि रहेको उनको भनाइ थियो।
‘जनताको आवाज दबाउँदाको रिजल्ट तपाईंको आँखाअगाडि छ, यो याद राख्नुस्। हामी राजनीतिमा परिपक्व छौँ, तपाईंहरूसँग सिक्न आएको होइन,’ उनले भने, ‘तपाईंहरू जस्तो राजनीति स्वीकार्न तयार छैनौँ।’
उनले विगतमा राजनीतिक दलहरूले गरेका गल्तीबाट भने आफूहरूले पाठ सिक्ने बताए। मन्त्री गुरुङले पुरानो राजनीतिक संस्कार दोहोर्याउनुभन्दा जनताको सेवा र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने धारणा व्यक्त गरे।