तपाईं–हामीले चलाउने कुनै पनि सफ्टवेयर डेभलपरको मिहिनेत र कम्पनीको लगानीले तयार भएको हुन्छ । सफ्टवेयरको ‘मेरुदण्ड’ मानिने ‘सोर्स कोड’ चोरी भएर अर्कै नाममा बजारमा पुग्दा सफ्टवेयर कम्पनी व्यावसायिक जोखिममा पर्न थालेका छन् ।
गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल प्रहरीको साइबर ब्युरोमा सोर्स कोड वा कम्प्युटर स्रोत संकेत चोरी भएका १० वटा निवेदन परेका थिए । नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा पनि उजुरी पर्ने गरेका छन् । तीमध्ये केही न्यायिक प्रक्रियामा गएका छन् । सूचना प्रविधि प्रणालीको आवश्यकता बढेसँगै यस्ता घटना व्यावसायिक ‘टाउको दुखाइ’ को विषय बन्न थालेका छन् ।
हालै मात्र काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्दाले यसको गहिराइ देखाउँछ । नयाँ बानेश्वरस्थित दियालो टेक्नोलोजिजले खानेपानी वितरण र ग्राहक व्यवस्थापनका लागि ‘वाटरमार्क’ नामक ईआरपी सफ्टवेयर सञ्चालन गर्दै आएको थियो । सोही कम्पनीमा काम गरेर बाहिरिएका केही कर्मचारीले ‘वास टेक नेपाल प्रालि’ नामक नयाँ संस्था खोलेर ‘वास बिलिङ’ नामक दियालोकै जस्तो सफ्टवेयर बजारमा ल्याए ।