टनेलमा फसेका नागरिकको उद्धारमा सरकार गम्भीर भएन : ज्ञानेन्द्र शाही

nepalkuro.com

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका टनेलमा फसेका नागरिकको खोज तथा उद्धारमा सरकारले गम्भीरता नदेखाएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै शाहीले बाढीका कारण थुनिएका सातवटा जलविद्युत् आयोजनाका टनेलमध्ये दुईवटा मात्रै खोलिएको र पाँचवटा टनेलमा अझै प्रभावकारी खोज तथा उद्धार हुन नसकेको बताए।

उनले केही टनेलका मुख खुला रहेकाले भित्र प्रवेश गरेर खोजी गर्न सकिने दाबी गरे। टनेल बन्द भएको भए जुम्लाका लालवीर बुढा र रमेश बुढालगायतका व्यक्ति कसरी जीवित बाहिर आए भन्ने प्रश्न गर्दै उनले तत्काल पाँचवटै टनेलमा प्रवेश गरी खोजी गर्न सरकारसँग आग्रह गरे।शाहीले टनेलमा फसेका नागरिकको अवस्थाबारे विज्ञ तथा इन्जिनियरसँग पर्याप्त छलफल नगरेको भन्दै सरकारको तयारीमाथि प्रश्न उठाए। नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङसँग समेत सरकारले समयमै संवाद नगरेको उनको आरोप थियो।

घिसिङले सम्बन्धित जलविद्युत् आयोजनामा लामो समय काम गरेको उल्लेख गर्दै शाहीले प्रधानमन्त्री वालेन्द्र शाहले बाढी आएको आठ दिनपछि मात्रै बिहीबार घिसिङसँग भेट गर्न लागेको बताए।

शाहीका अनुसार जुम्लाका १०१ जना मानिस अझै रसुवा र नुवाकोटका विभिन्न टनेलमा रहेको दाबी गरिएको छ। टनेलभित्र जम्मा भएको हिलो हटाउन आवश्यक मेसिन नभएको प्रधानमन्त्रीले बताएको भन्दै उनले सरकारको उद्धार तयारीप्रति असन्तुष्टि जनाए।

‘हामीसँग महावीर पुनजस्ता वैज्ञानिक मन्त्री छन्। हिलो तान्न लगिएको मेसिन तीन दिनदेखि सडकमा अड्किएको छ,’ उनले भने, ‘रसुवाको नौकुण्ड गाउँपालिकामा हिलो तान्ने मेसिन अड्किएर बसेको छ । त्यसलाई हेलिकप्टरले किन लान सकेन?’नागरिकको उद्धारका लागि सरकारसँग आग्रह गर्नु अपराध नभएको भन्दै शाहीले आफूलाई जस्तोसुकै आलोचना भए पनि संकटमा परेका नागरिकको उद्धारको माग गरिरहने बताए।

‘यदि नागरिकको उद्धार गरिदिनुस् भन्नु अपराध हो भने देश र जनताका लागि म हजार पटक अपराध गर्न तयार छु,’ उनले भने, ‘मैले कसैसँग भिख मागेको होइन। संकटमा परेका नागरिकको उद्धार गरिदिनुस् भनेको हो।’

आफूहरूसँग सेना परिचालन गर्ने वा ठूलो बजेट परिचालन गर्ने अधिकार नभएको भन्दै उनले उद्धारको सम्पूर्ण जिम्मेवारी सरकारको भएको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग समेत त्यस्तो अधिकार नरहेको उनको भनाइ थियो।

शाहीले रसुवाको एउटा टनेलमा सांसद बब्लु गुप्ता आफैं रहेको र पाँचवटा टनेलमा अझै प्रभावकारी काम हुन नसकेको बताए। उनले विगतमा पनि उद्धारको माग गर्दा राजनीतिक कार्यकर्ताबाट आक्रमण तथा दुर्व्यवहार भएको आरोप लगाए। अहिले टनेलमा फसेका श्रीमान्को खोजी गरिदिन आग्रह गर्ने एक महिलामाथि समेत सामाजिक सञ्जालमार्फत दुर्व्यवहार र गालीगलौज भइरहेको उनको आरोप थियो।

प्रतिक्रिया