काठमाडौँ – ‘हिमालयन चितुवा’का नामले परिचित नेपाली युवा बक्सर अविरल घिमिरेले जापानमा हुने ‘हिट किक बक्सिङ–५९ अन्तर्राष्ट्रिय प्रतियोगिता’मा प्रतिस्पर्धा गर्ने भएका छन्।
जापानको करिया सहरमा भदौ २० गते आयोजना हुने अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का वर्ल्ड मेन इभेन्ट) मा घिमिरेले फ्रान्सका बक्सर माथन स्वीनार्डसँग प्रतिस्पर्धा गर्नेछन्।
घिमिरेले हालसम्म २८ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्। तीमध्ये उनले २० वटा प्रतियोगितामा जित हासिल गरेका छन्। हिट किक बक्सिङमा उनले चार पटक ‘टाइटल डिफेन्स’ गर्न सफल भइसकेका छन्।
घिमिरेले यसअघि हिट किक बक्सिङ टाइटल म्याच, अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन टाइटल तथा के–वन क्रस १७५ र १८२ का गरी दुई पटक टाइटल म्याच जितिसकेका छन्।
अन्तर्राष्ट्रिय रिङमा प्रभावशाली प्रदर्शन गर्दै नेपालको नाम उच्च राख्न सफल घिमिरेलाई नेपाली किक बक्सिङका उत्कृष्ट खेलाडीका रूपमा लिइन्छ। आगामी प्रतिस्पर्धामा फ्रान्सेली बक्सर स्वीनार्डविरुद्धको खेलमा पनि घिमिरेले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।