भोटेकोशी विपद्पछि सुरुङभित्र उद्धार अभियान तीव्र, सेना–प्रहरीसहितको टोली परिचालित
nepalkuro.com
१९ भदौ २०८३, शुक्रबार
काठमाडौं– जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सुरक्षाकर्मीले पानी, लेदो तथा अन्य अवरोध पन्छाउँदै सुरुङभित्र प्रवेश गरेर खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्।
सुरुङसम्म पुग्ने बाटो नभएका स्थानमा स्काभेटर र बोबक्याट प्रयोग गरी बाटो बनाउनेदेखि सुरुङभित्र जम्मा भएको पानी तथा लेदो हटाउनेसम्मका काममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित छन्।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका क्रममा नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरी बल नेपालका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ।
उद्धार टोलीले दुई जनालाई जीवितै उद्धार गरेको छ। उद्धार गरिएका दुवै जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत श्री वीरेन्द्र अस्पताल, छाउनी ल्याइएको छ। सोही क्रममा सुरुङबाट एक जनाको शवसमेत निकालिएको छ। थप व्यक्ति फसेको हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै खोज तथा उद्धार कार्य जारी राखिएको छ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा उद्धार टोलीले सुरुङ तथा आयोजनाको कार्यालय र निवाससम्म पुग्ने बाटो बनाउने काम गरिरहेको छ। नेपाली सेनाका ८९ जना, तीन गैरसैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरेको छ।
उक्त क्षेत्रमा पुग्न एक्स्काभेटरबाट बाटो बनाउने तथा बोबक्याट प्रयोग गरी खन्ने र माटो पन्छाउने काम भइरहेको छ। उद्धार टोली ‘अडिट–१’ बाट ४२६ मिटरभित्र प्रवेश गरिसकेको छ। अडिट–१ बाट एक्स्काभेटर सुरुङभित्र छिराई त्रिशूली–३ ‘ए’ सँग ‘लिङ्कअप’ गराउने प्रयाससमेत भइरहेको छ। त्यसका लागि अपरेटरसहितको टोली परिचालन गरिएको छ।
यस्तै, लाङटाङ हाइड्रोमा पनि नेपाली सेना र गैरसैनिकसहितको संयुक्त टोलीले सुरुङभित्र प्रवेश गरी खोजी गरिरहेको छ। नेपाली सेनाका २५ जना तथा दुई गैरसैनिक रहेको टोलीले सुरुङभित्र दुई वटा शव फेला पारेको छ। थप खोज तथा उद्धार कार्य जारी छ।
चिलिमे हाइड्रोमा भने विदेशीसहितको संयुक्त टोलीले जेनेरेटर र ‘मड पम्प’को सहायताले सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम गरिरहेको छ।
त्यस्तै, माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा नेपाली सेनाका १७ जना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले र्याफ्ट र डुंगासमेत प्रयोग गरेर सुरुङभित्र खोजी गरिरहेको छ। सुरुङमा रहेको पानी बाहिर निकाल्ने कामसमेत भइरहेको छ।
बाढी तथा अन्य कारणले जलविद्युत् आयोजनाका सुरुङभित्र जोखिमपूर्ण अवस्था सिर्जना भएपछि सुरक्षा निकाय र आयोजनाका प्राविधिक जनशक्ति विभिन्न उपकरणको प्रयोग गर्दै खोज तथा उद्धारमा परिचालित भएका छन्।
उद्धार टोलीले सुरुङभित्र फसेका जीवित व्यक्तिको खोजी, शव निकाल्ने तथा सुरुङसम्म पुग्न र भित्र प्रवेश गर्न बाधक बनेका पानी, लेदो र अन्य अवरोध हटाउने कामलाई निरन्तरता दिइरहेको छ।