न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मंगलबारदेखि न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा सुरु भएको छ। महासभा आगामी सेप्टेम्बर २९ सम्म सञ्चालन हुनेछ।
‘विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन : सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसङ्घ’ भन्ने नारासहित सुरु भएको महासभामा अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गरेका छन्।
अध्यक्ष रहमानले विश्वशान्ति, सुरक्षा, न्याय र जलवायु परिवर्तनलगायतका जल्दाबल्दा विषयमा घनिभूत तथा प्रभावकारी छलफलमार्फत विश्वव्यापी समस्या समाधान गर्न ८१औँ महासभा सफल हुने विश्वास व्यक्त गरे।
उनले दिगो विकासका रणनीति कार्यान्वयन, पर्यावरणीय दिगोपन, मानवअधिकार तथा मानवीय समस्या, डिजिटल गभर्नेन्स र प्रविधिको उपयोग तथा बहुपक्षीय हितका लागि संयुक्त राष्ट्रसङ्घको पुनर्संरचनालगायतका विषयमा पनि महत्वपूर्ण छलफल हुने बताए।
महासचिव गुटेरेसले विश्वले विभिन्न प्रकारका द्वन्द्वको सामना गरिरहेको अवस्थामा उपयुक्त रणनीति र कार्यक्रममार्फत तिनको समाधानमा संयुक्त राष्ट्रसङ्घ केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे।
जलवायु परिवर्तन, दिगो विकास, गरिबी, द्वन्द्व, विभाजन र आणविक जोखिमजस्ता समस्याबाट विश्व प्रभावित भइरहेको उल्लेख गर्दै उनले आपसी सहयोग, संवाद र सहकार्यबाट समस्या समाधानका लागि महासभा उपयुक्त मञ्च भएको बताए।
महासभा सुरु भएको अवसरमा न्युयोर्कस्थित नेपाली स्थायी नियोगले विज्ञप्ति जारी गर्दै ८१औँ महासभाबाट रचनात्मक तथा उपलब्धिमूलक संवादको अपेक्षा गरिएको जनाएको छ। नियोगले संवाद र सामूहिक प्रयत्नमार्फत विश्वशान्ति, विकास, मानवीयता तथा जलवायु न्यायका क्षेत्रमा काम गर्न नेपाल इच्छुक रहेको उल्लेख गरेको छ।
नियोगले संयुक्त राष्ट्रसङ्घको महासभाको अध्यक्षका रूपमा पदभार ग्रहण गरेका बङ्गलादेशी कूटनीतिज्ञ रहमानलाई बधाईसमेत दिएको छ।
यसैबीच, मंगलबार नेपालका तर्फबाट संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले कम विकसित मुलुकहरूको विकासका लागि विश्वव्यापी ऐक्यबद्धता कायम गर्दै प्रतिफलमुखी नतिजा हासिल गर्न विकासको गति बढाउन आग्रह गरेका छन्।
अल्पविकसित मुलुकहरूको विकाससम्बन्धी मन्त्रीस्तरीय मध्यकालीन समीक्षा बैठकलाई सम्बोधन गर्दै समूहगत अध्यक्षको हैसियतमा थापाले उत्पादन क्षमता वृद्धि, डिजिटलाइजेसन, जलवायु परिवर्तनसँग जुध्ने क्षमता, क्षेत्रीय व्यापार, सामाजिक सुरक्षा तथा दिगो विकासका लागि आवश्यक वित्तीय स्रोत र प्रतिबद्धताअनुसार काम गर्न अपिल गरे।