पोर्चुगल– पोर्चुगलमा चर्चित नेपाली सेफ टंक सापकोटाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५१ लाख ११ हजार १५१ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
सापकोटाले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन्। पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले सापकोटाको सहयोगको प्रशंसा गर्दै प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारका लागि गरिएको सहयोग प्रशंसनीय र प्रेरणादायी रहेको बताए।
राजदूत पौडेलले संकटको समयमा मातृभूमि र विपद्पीडित नागरिकप्रति सापकोटाले देखाएको परोपकारी भावना तथा मानवीय सहयोगले सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको बताए। सापकोटाले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा थोरै भए पनि सहयोग पुर्याउने उद्देश्यले आफ्नो परिवारका तर्फबाट उक्त रकम प्रदान गरिएको बताए। दाजु लक्ष्मीप्रसाद सापकोटा र श्रीमती सीता सापकोटासँग सल्लाह गरेर परिवारका तर्फबाट विपत्तिमा परेका नागरिकलाई सहयोग गरेको उनले जानकारी दिए।
‘प्राकृतिक विपत्तिमा परेका मातृभूमिका नागरिकको पीडा र दुःखमा थोरै भए पनि राहत पुर्याउनुलाई मैले आफ्नो मानवीय तथा सामाजिक उत्तरदायित्वका रूपमा लिएको छु। हामी संसार बदल्न सक्दैनौँ, तर संसार बदल्न सहयोग गर्न सक्छौँ। विपद्को यो कठिन घडीमा पीडित नागरिकको दुःखमा थोरै भए पनि साथ दिन सक्नु नै हाम्रो लागि ठूलो कुरा हो,’ सापकोटाले भने।
विगत ३० वर्षदेखि पोर्चुगलमा बस्दै आएका बागलुङ, दमेकका सापकोटाले राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। पाककलामा उत्कृष्ट कला–कौशल प्रदर्शन गर्दै आएका उनले दर्जनौँ अवार्ड तथा पुरस्कारसमेत प्राप्त गरिसकेका छन्। यसअघि पनि सापकोटाले विभिन्न प्राकृतिक विपत्ति तथा मानवीय संकटका समयमा सहयोग गर्दै आएका छन्। कोरोना महामारीका समयमा उनले राजधानी लिस्बनका करिब १० हजार जनालाई निःशुल्क खाना खुवाएका थिए।