कृष्णभीरमा सडक भासिँदा लमजुङ–काठमाडौं यात्रा दोब्बरभन्दा बढी लामो

nepalkuro.com

लमजुङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौं आवतजावत गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ । नियमित मार्ग अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौं जाने सवारीसाधन चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन् ।

गत भदौ १४ गते कृष्णभीरमा सडक भासिएपछि सामान्य अवस्थामा ५ देखि ६ घण्टामा पूरा हुने बेँसीसहर–काठमाडौं यात्रा अहिले १२ देखि १३ घण्टासम्म लाग्ने गरेको छ । लामो तथा घुमाउरो वैकल्पिक मार्गका कारण यात्राको समयसँगै खर्चसमेत उल्लेख्य रूपमा बढेको छ ।

सडक अवरुद्ध हुनुअघि डिजेल माइक्रोबसको भाडा ९ सय रुपैयाँ र विद्युतीय (ईभी) माइक्रोको ७ सय रुपैयाँ रहेकामा अहिले क्रमशः २ हजार र १ हजार ५ सय रुपैयाँ पुगेको छ । ठूला बसको भाडासमेत दोब्बरभन्दा बढी भएको छ ।

यात्रा लामो, कष्टकर र महँगो बनेपछि यात्रु तथा सवारीसाधनको सङ्ख्यामा समेत ठूलो गिरावट आएको छ । बेँसीसहर काउन्टरका अनुसार पहिले दैनिक ४० देखि ५० वटा माइक्रोबस काठमाडौं जाने गरेकामा अहिले ५ देखि ७ वटामा सीमित भएका छन् । त्यस्तै, दैनिक ५–६ वटा छुट्ने ठूला बस अहिले एउटा मात्र काठमाडौं जाने गरेको छ ।

सडक अवरोधको प्रत्यक्ष असर उपचारका लागि काठमाडौं ‘रेफर’ हुने बिरामीलाई समेत परेको छ । लमजुङ अस्पतालका सूचना अधिकारी अनिल रेग्मीका अनुसार कतिपय बिरामीलाई एम्बुलेन्समार्फत घुमाउरो बाटो हुँदै काठमाडौं पठाउनुपरेको छ ।

जटिल अवस्थाका बिरामीलाई भने पोखरासम्म पुर्‍याएर हेलिकप्टरमार्फत काठमाडौं लैजानुपर्ने बाध्यता रहेको उनले बताए । यसले बिरामी र परिवारमाथि थप आर्थिक तथा मानसिक भार परेको छ ।

सडक डिभिजनले नियमित मार्ग सञ्चालनमा नल्याएसम्म लामो दूरी, बढेको भाडा र चिप्लो वैकल्पिक सडकका कारण लमजुङ–काठमाडौं यात्रुले अझै केही दिन सास्ती खेप्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया