भोटेकोशी बाढीबाट पाठ सिक्दै वातावरण संरक्षण र विपद् व्यवस्थापनमा दीर्घकालीन कदम चाल्न कल्याण गुरुङको सुझाव

nepalkuro.com

काठमाडौं– नेपाली कांग्रेसका नेता कल्याण गुरुङले भोटेकोशी बाढीबाट पाठ सिक्दै वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका क्षेत्रमा दीर्घकालीन योजना र प्रभावकारी नीति अवलम्बन गर्नुपर्ने बताएका छन् ।

गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको उल्लेख गर्दै गुरुङले भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न विभिन्न कदम चाल्नुपर्ने बताएका हुन् ।

उनले प्लास्टिक तथा प्लास्टिकजन्य सामग्रीको प्रयोगमा कानुनी प्रतिबन्ध लगाउनुपर्ने, जथाभावी फोहोर फाल्ने कार्यलाई कठोर दण्डनीय बनाउनुपर्ने तथा नदी–खोला किनारमा हुने अव्यवस्थित बसोबास नियन्त्रण गर्नुपर्ने सुझाव दिएका छन् ।

गुरुङले भोटेकोशी बाढीबाट पाठ सिक्दै तत्काल गर्नुपर्ने तथा दीर्घकालीन रूपमा अघि बढाउनुपर्ने ११ वटा सुझाव सार्वजनिक गरेका छन् ।

गुरुङका सुझाव

१. प्लास्टिक प्रयोगमा प्रतिबन्ध
प्लास्टिक तथा प्लास्टिकजन्य सामग्रीको प्रयोगमा कानुनी रूपमा प्रतिबन्ध लगाउनुपर्ने उनको सुझाव छ । यस्तै, जथाभावी फोहोर फाल्ने, खोला तथा नदीमा फोहोर फाल्ने र राजमार्गमा यात्रा गर्दा सवारीसाधनबाट फोहोर बाहिर फाल्ने कार्यलाई कानुनी रूपमा कठोर दण्डनीय बनाउनुपर्ने उनले बताएका छन् ।

२. नदी किनारमा घर निर्माण रोक्नुपर्ने
खोला तथा नदी किनारमा घर निर्माण गर्न रोक लगाउनुपर्ने गुरुङको सुझाव छ । उनका अनुसार खोलाको दुवैतर्फ कम्तीमा २०० मिटर क्षेत्र खाली राखेर मात्र घर निर्माण गर्ने व्यवस्था गर्नुपर्छ ।

३. नदी किनारमा वृक्षरोपण
खोला तथा नदीको दुवैतर्फ कम्तीमा २०० मिटर क्षेत्रमा वृक्षरोपण गर्नुपर्ने उनले बताएका छन् । रूख, बाँस, निगालोलगायत माटो संरक्षणमा सहयोग गर्ने वनस्पति रोप्नुपर्ने उनको सुझाव छ ।

४. अग्ला र फराकिला पुल निर्माण
धेरै पुल कम उचाइका कारण बाढीमा बगेको उल्लेख गर्दै अब पुल निर्माण तथा डिजाइन गर्दा पर्याप्त उचाइ कायम गर्नुपर्ने गुरुङले बताएका छन् । उनका अनुसार पुलमुनिबाट कम्तीमा दुई ठूला ट्रक सहजै आवतजावत गर्न सक्ने गरी कम्तीमा १५ मिटर उचाइका पुल निर्माण गर्नुपर्छ ।

झोलुङ्गे पुललगायत अन्य पुल पनि पर्याप्त उचाइ र कम्तीमा चार लेन बराबरको चौडाइ हुने गरी डिजाइन तथा निर्माण गर्नुपर्ने उनको सुझाव छ ।

५. बलिया र फराकिला तटबन्ध निर्माण
खोलाको दुवैतर्फ बलिया, फराकिला र अग्ला तटबन्ध निर्माणको काम सुरु गर्नुपर्ने उनले बताएका छन् । तटबन्धमा कम्तीमा पाँचवटा ठूला ट्रक आवतजावत गर्न सक्ने चौडाइ र कम्तीमा १५ मिटर उचाइ कायम गर्नुपर्ने उनको सुझाव छ । यसका लागि जनश्रमदानमा आम नागरिकलाई सहभागी गराउन सके अझ प्रभावकारी हुने उनले उल्लेख गरेका छन् ।

६. जन्मदिनमा रूख रोप्ने संस्कृतिको विकास
जन्मदिन तथा पुर्खाको सम्झनाका दिन रूख रोप्ने परम्परा र संस्कृतिको विकास गर्नुपर्ने गुरुङको सुझाव छ ।

७. उपहारमा बोटबिरुवा दिने चलन
चाडपर्व तथा विशेष अवसरमा उपहारका रूपमा बोटबिरुवा दिने संस्कृतिको विकास गर्नुपर्ने उनले बताएका छन् ।

८. विद्यालयदेखि नै वातावरण तथा विपद् व्यवस्थापन शिक्षा
विद्यालय तहदेखि नै विज्ञान, वातावरण विज्ञान, ग्लेसियोलोजी, फरेस्ट्री, हाइड्रोलोजी, फायर इकोलोजी, स्नो हाइड्रोलोजी, ओसियनोग्राफी, जियोलोजी, वनस्पतिशास्त्र, जीवशास्त्र, भूगोल तथा प्राकृतिक प्रकोपसम्बन्धी विषयलाई प्राथमिकताका साथ अध्ययन–अध्यापन गराउनुपर्ने उनले बताएका छन् ।

यस्ता विषयसँगै प्राकृतिक विपद्बाट जोगिने उपाय तथा विपद्का बेला तत्काल गर्नुपर्ने उद्धार, उपचार र राहतका विषयलाई समेत विद्यालय तहदेखि नै सैद्धान्तिक र व्यावहारिक रूपमा सिकाउनुपर्ने उनको सुझाव छ ।

९. ठूला ढल तथा फोहोर पानी प्रशोधन केन्द्र निर्माण
ठूला ढल निर्माण तथा फोहोर पानी प्रशोधनका लागि तत्काल मास्टरप्लान, रोडम्याप र दीर्घकालीन कार्ययोजना तयार गर्नुपर्ने गुरुङले बताएका छन् ।

१०. हरेक स्थानीय तहमा फोहोरमैला व्यवस्थापन केन्द्र
फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माणका लागि सबै स्थानीय तह र सम्भव भएसम्म प्रत्येक वडामा केन्द्र स्थापना गर्ने गरी मास्टरप्लान, रोडम्याप र दीर्घकालीन कार्ययोजना बनाउनुपर्ने उनको सुझाव छ । त्यस्ता केन्द्रबाट निस्कने प्रशोधित पानी तथा मललाई अर्गानिक कृषि प्रणालीसँग जोड्नुपर्ने उनले बताएका छन् ।

११. दीर्घकालीन विपद् व्यवस्थापनमा राज्यको प्राथमिकता
विपद् न्यूनीकरणका लागि पूर्वतयारी, वातावरण संरक्षण, जोखिमयुक्त क्षेत्रको पहिचान तथा सुरक्षित पूर्वाधार निर्माणलाई राज्यको दीर्घकालीन प्राथमिकतामा राख्नुपर्ने गुरुङको जोड छ । भोटेकोशी बाढीजस्ता विपद्लाई केवल तत्कालीन उद्धार र राहतको विषयका रूपमा नहेरी भविष्यमा जोखिम घटाउने दीर्घकालीन नीति निर्माणतर्फ राज्य केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया