काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहानसम्म विभिन्न जिल्लाबाट उक्त सङ्ख्यामा शव फेला परेका हुन्।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ।
बाढीपहिरोपछि ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका तीन जना राष्ट्रसेवक कर्मचारी रहेका छन्।
बाढीबाट २७९ जना घाइते भएका छन्। उपचारपछि विभिन्न अस्पतालबाट १६८ जना डिस्चार्ज भइसकेका छन् भने हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
उद्धार, खोजी तथा राहत कार्यका लागि हालसम्म २१ हजार ११ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।