विपद् व्यवस्थापनमा संघ र स्थानीय तहसँग समन्वय गरी काम भइरहेको छ : मुख्यमन्त्री थापा

nepalkuro.com

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत वितरण तथा पुनर्निर्माणका काममा संघीय सरकारसँग समन्वय र सहकार्य गर्दै प्रदेश सरकारले काम गरिरहेको बताएका छन्।

सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री थापाले संघीय सरकारले राहत सामग्री संकलन गर्ने, प्रदेश सरकारले समन्वय तथा सहकार्य गर्ने र स्थानीय तहले राहत वितरण गर्ने गरी जिम्मेवारी निर्धारण गरिएको बताए।

राहत वितरणलाई व्यवस्थित बनाउन स्थानीय तहमा राजनीतिक दल, जनप्रतिनिधि र कर्मचारी सम्मिलित संयन्त्र गठन गरी एकद्वार प्रणालीमार्फत राहत वितरण सुरु गरिएको उनले जानकारी दिए।

मुख्यमन्त्री थापाका अनुसार भदौ १२ गते नै प्रदेश सरकारको पहलमा सडक मर्मत गरी रसुवासम्म खाद्यान्न तथा राहत सामग्री पुर्‍याइएको थियो। आवागमन सहज बनाउन आवश्यकताअनुसार तुइन, झोलुङ्गे पुल तथा रसुवा जोड्ने अस्थायी संरचना निर्माणमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरिएको उनले बताए।

त्यस्तै, विपद् प्रभावित रसुवाका लागि १ करोड, नुवाकोटका लागि १ करोड, धादिङका लागि ५० लाख र चितवनका लागि ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री थापाले जानकारी दिए।

अभिभावक गुमाएका तथा घरबारविहीन बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन गर्ने निर्णयसमेत प्रदेश सरकारले गरेको उनले बताए। त्यस्ता विद्यालयमा प्रारम्भिक बाल विकास (इसिडी) देखि कक्षा १२ सम्मको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने उनको भनाइ छ।

मुख्यमन्त्री थापाले त्रिशूली नदीमा रहेका १४० मिटरभन्दा लामा पुल, साना पुल तथा झोलुङ्गे पुलहरू क्षतिग्रस्त भएकाले तिनको पुनर्निर्माण आवश्यक रहेको बताए।

स्थानीय तहले आवश्यक जग्गा उपलब्ध गराएपछि सडक, खानेपानी, विद्यालय र अस्पताललगायतका पूर्वाधार निर्माणमा संघीय र प्रदेश सरकारले हातेमालो गरेर काम अघि बढाउने उनले प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया