काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहले भोटेकोशीमा आएको बाढीपछि भएको जनधनको क्षति न्यूनीकरण तथा उद्धारका लागि सरकारको सम्पूर्ण साधन–स्रोत परिचालन गर्न माग गरेका छन्।
बुधबार संसद्को आकस्मिक समयमा बोल्दै सिंहले विपद्का बेला नागरिकको जिउधनको सुरक्षा सरकारको सर्वोच्च प्राथमिकतामा पर्नुपर्ने बताए। उनले विपद्को सामना गर्न सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए।
सिंहले विगतका मेलम्ची, रोसी खोला र सेती नदीमा भएका विपद्का घटनाबाट सरकारले पाठ सिक्नुपर्ने बताए। यस्ता घटनाबाट क्षति न्यूनीकरणका उपाय अवलम्बन गर्नुका साथै अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउन सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ।
‘यो विपत्को घडीमा हामी सबै सरकारको साथमा छौँ। यस्तो अवस्थामा सरकारले नागरिकसँग सहयोगको आह्वान पनि गर्नुपर्छ,’ उनले भने। उनले उद्योगी–व्यवसायी लगायत सबैलाई उद्धार तथा राहतमा जुट्न आग्रह गर्दै विपद् व्यवस्थापन सरकारको एक्लो क्षमताले मात्र सम्भव नहुने बताए।
सांसद सिंहले बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे। घाइतेहरूको उपचारका लागि सरकारी अस्पताल मात्र पर्याप्त नहुने भन्दै उनले निजी अस्पतालहरूलाई समेत सहयोगमा अगाडि आउन आग्रह गरे।
सिंहले विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई समेत विपद्मा सहयोगको हात अघि बढाउन आह्वान गरेका छन्। ‘एक पटकको नेपाली सधैंको नेपाली हुन्छ,’ भन्दै उनले संकटको समयमा सबै नेपाली एक ठाउँमा उभिनुपर्ने बताए।