भन्सारको जागिर पाएको चार दिनमै बेपत्ता भइन् ली, ‘पहिलो तलब नै पेन्सन होला भनेर कसले सोचेको थियो र?’

nepalkuro.com

काठमाडौं– चीन–नेपाल सीमास्थित केरुङ क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोले ठूलो मानवीय क्षति पुर्‍यायो। नेपालसँगै चीनको तिब्बततर्फ पनि कैयौँ मानिसको ज्यान गएको छ भने सयौँ अझै बेपत्ता छन्। विपद्मा ज्यान गुमाउने तथा बेपत्ता हुनेमध्ये सुरक्षाकर्मी, भन्सार र अध्यागमनका कर्मचारीसमेत छन्।

यही विपद्मा नयाँ जिम्मेवारी सम्हालेको चार दिनमै बेपत्ता भएकी २४ वर्षीया चिनियाँ युवती ली लेयाङको कथा अहिले चिनियाँ सामाजिक सञ्जालमा भावुक चर्चाको विषय बनेको छ।

लीले अगस्ट २१ देखि तिब्बतस्थित ग्यिरोङ (केरुङ) बन्दरगाहको भन्सार कार्यालयमा वनस्पति क्वारेन्टिन अधिकृतका रूपमा काम सुरु गरेकी थिइन्। तर, जिम्मेवारी सम्हालेको चार दिनपछि अर्थात् अगस्ट २६ (भदौ १०) मा कार्यालयमै काम गरिरहेका बेला आएको भीषण बाढी तथा पहिरोमा उनी बेपत्ता भइन्।

उक्त विपद्का क्रममा हिमाली क्षेत्रमा आएको विशाल पहिरो तथा बाढीले केरुङ बन्दरगाह क्षेत्रलाई तहसनहस बनाएको थियो। चिनियाँ उद्धार टोली घटनास्थलमा पुग्दा बन्दरगाह क्षेत्रमा ठूलो संरचनागत क्षति भएको र अधिकांश स्थान भग्नावशेषमा परिणत भएको पाइएको थियो।

चिनियाँ सञ्चारमाध्यमका अनुसार ली अझै बेपत्ता रहेकाहरूको सूचीमा छिन्। उनको शवसमेत अहिलेसम्म फेला परेको छैन। उनको सम्झनामा केरुङ बन्दरगाह भन्सार कार्यालयले सेप्टेम्बर १ मा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको बताइएको छ।

कठिन संघर्षपछि पाएकी थिइन् सरकारी जागिर

ली चीनको पूर्वी भागमा पर्ने आन्हुई प्रान्तको ग्रामीण परिवारमा जन्मिएकी थिइन्। उनले आन्हुई युनिभर्सिटी अफ एप्लाइड टेक्नोलोजीबाट एसोसिएट डिग्री हासिल गरेकी थिइन्। त्यसपछि आफ्नो अध्ययनलाई अघि बढाउँदै आन्हुई एग्रिकल्चरल युनिभर्सिटीबाट स्नातक तह पूरा गरिन्।

त्यसपछि उनले बेइजिङस्थित चाइना एग्रिकल्चरल युनिभर्सिटीमा स्नातकोत्तर तहको प्रवेश परीक्षा उत्तीर्ण गरिन्। केही महिनाअघि मात्रै उनले स्रोत उपयोग तथा वनस्पति संरक्षण विषयमा स्नातकोत्तर तह पूरा गरेकी थिइन्।

चीनमा भन्सारको जागिरलाई स्थिर र प्रतिष्ठित सरकारी रोजगारीका रूपमा हेरिन्छ। लीले पनि निकै प्रतिस्पर्धात्मक सरकारी सेवा परीक्षा पार गर्दै भन्सार सेवामा प्रवेश गरेकी थिइन्। उपलब्ध विवरणअनुसार करिब २ हजार आवेदकलाई पछि पार्दै उनले पहिलो स्थान हासिल गरेकी थिइन्।

नयाँ कर्मचारीका रूपमा केरुङ बन्दरगाह भन्सार कार्यालयले सामाजिक सञ्जालमा उनको परिचय सार्वजनिक गर्दा उनले आफूलाई मिहिनेती, साहसी र स्थिर मनोभाव भएकी व्यक्तिका रूपमा प्रस्तुत गरेकी थिइन्।

उनलाई फूल रोप्ने, पढ्ने तथा बिरालो र कुकुरसँग खेल्ने रुचि थियो।

‘सीमाको जैविक सुरक्षा जोगाउनेछु’ भनेकी थिइन्

नयाँ जिम्मेवारी सम्हाल्दै लीले भन्सार सेवामा आफ्नो भूमिकालाई निकै गम्भीरतापूर्वक लिने बताएकी थिइन्।

उनले भन्सारको नयाँ सदस्यका रूपमा वनस्पति क्वारेन्टिन अधिकृतको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने र देशको सीमामा जैविक सुरक्षाको रेखा जोगाउन मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

तर, आफ्नो नयाँ जिम्मेवारी र भविष्यका योजनासहित केरुङ पुगेकी उनी चार दिनमै आएको प्राकृतिक विपद्को चपेटामा परिन्।

‘अर्को वसन्त चाडमा आमाबुबालाई बेइजिङ लैजाने तयारी थियो’

लीकी कान्छी बहिनीले सामाजिक सञ्जालमार्फत दिदीलाई सम्झिँदै भावुक सन्देश लेखेकी छन्।

उनका अनुसार लीले अर्को वर्षको वसन्त चाडको बिदामा आमाबुबालाई बेइजिङ घुमाउन लैजाने योजना बनाएकी थिइन्।

बहिनीले लेखेकी छन्, काम सुरु गरेको चार दिनमै दिदीसँग फोनमा सम्पर्क गर्न नसक्ने अवस्था आउँछ भनेर परिवारले कहिल्यै कल्पना नगरेको बताएकी छन्।

उनले आमा, बुबा र आफू दिदीलाई घरमा कुरिरहेको उल्लेख गर्दै सरकारी जागिर पाउन लीले गरेको संघर्षसमेत सम्झिएकी छन्।

‘सरकारी जागिर पाउन कति कठिन हुन्छ। तिम्रो पहिलो तलब नै पेन्सन हुनेछ भनेर कसले सोचेको थियो र?’ भन्ने उनको भावुक अभिव्यक्तिले चिनियाँ सामाजिक सञ्जालमा धेरैको ध्यान खिचेको छ।

चार दिनको खुसी, जीवनभरको सपना अधुरै

लीको दुःखद् कथाले चिनियाँ सामाजिक सञ्जालमा भावुक प्रतिक्रिया जन्माएको छ। धेरै प्रयोगकर्ताले उनको जीवनको संघर्ष, सरकारी सेवामा प्रवेश गर्ने सपना र नयाँ जागिर सुरु गरेको केही दिनमै बेपत्ता हुनुपरेको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

एक प्रयोगकर्ताले लीको जीवनको अधिकांश समय परीक्षाको तयारीमै बितेको र सरकारी जागिरमा प्रवेश गरेपछि जीवनको खुसी केवल चार दिन मात्रै अनुभव गर्न पाएको टिप्पणी गरेका छन्।

अर्का प्रयोगकर्ताले उनको भाग्यप्रति दुःख व्यक्त गर्दै विपद्ले एउटा युवतीको भविष्य र परिवारको सपना एकैपटक खोसेको बताएका छन्।

चीन–नेपाल सीमा क्षेत्रमा अगस्ट २६ मा आएको विपद्मा ग्यिरोङ क्षेत्र गम्भीर रूपमा प्रभावित भएको थियो। पछिल्ला विवरणअनुसार चीनतर्फ पनि सयौँ मानिस बेपत्ता भएका थिए र उद्धार टोलीले भग्नावशेषमा जीवित व्यक्तिको खोजी गरेको थियो।

ली लेयाङको कथा भने अहिले प्राकृतिक विपद्मा ज्यान गुमाएका तथा बेपत्ता भएका सयौँ मानिसको पीडामध्ये एउटा प्रतिनिधि कथाका रूपमा चिनियाँ समाजमा चर्चामा छ—ठूलो संघर्ष गरेर पाएको सरकारी जागिर, नयाँ जिम्मेवारीको उत्साह र परिवारसँगका भविष्यका सपना चार दिनमै बाढीले खोसेको एउटा दुःखद् कथा।

प्रतिक्रिया