भोटेकोशी बाढीपीडितका लागि महानगरीय ख्रीष्टिय समाजको ४ लाख ७२ हजार सहयोग

nepalkuro.com

चितवन — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले महानगरीय ख्रीष्टिय समाज, भरतपुर, चितवनले ४ लाख ७२ हजार १६२ रुपैयाँ सहयोग गरेको छ।

समाजमा आबद्ध विभिन्न मण्डली तथा सहयोगीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा समाजले बुधबार उक्त सहयोग रकम कोषमा हस्तान्तरण गरेको जनाएको छ।

यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो।

विपद्बाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले समाजले सहयोग अभियान सञ्चालन गरेको हो।महानगरीय ख्रीष्टिय समाजका अध्यक्ष राजु परियार, कोषाध्यक्ष रणबहादुर राना मगर र सचिव सुमन लुङ्गेलीले जारी गरेको पत्रमार्फत् सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको जानकारी दिइएको छ।

प्रतिक्रिया