ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच अब चौतारीमै, टोलटोलमा पुग्दै स्वास्थ्यकर्मी
nepalkuro.com
१९ भदौ २०८३, शुक्रबार
भद्रपुर– उमेर ढल्किँदै गएपछि स्वास्थ्य समस्या थपिँदै जान्छ। तर उपचारका लागि स्वास्थ्य संस्था पुग्न कठिन हुँदा धेरै ज्येष्ठ नागरिक सामान्य स्वास्थ्य समस्या लिएर घरमै बस्न बाध्य हुन्छन्। यस्तो अवस्थालाई ध्यानमा राख्दै झापाको अर्जुनधारा नगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरी टोलटोलमै स्वास्थ्य सेवा दिन थालेको छ।
अर्जुनधारा–८ को शनिश्चरे चोकस्थित ज्येष्ठ नागरिक चौतारी यसको उदाहरण बनेको छ। दैनिक ज्येष्ठ नागरिक भेला हुने उक्त चौतारीमा अहिले सुखदुःखका कुरा र राजनीतिक गफसँगै नियमित स्वास्थ्य परीक्षणसमेत हुन थालेको छ।
स्थानीय आधारभूत स्वास्थ्य केन्द्रले हरेक महिनाको १६ गते ज्येष्ठ नागरिक चौतारीमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ। वडाध्यक्ष कुमार उप्रेतीका अनुसार ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले २०८१ मङ्सिरदेखि टोलटोल तथा ज्येष्ठ नागरिक भेला हुने स्थानमै पुगेर स्वास्थ्य परीक्षण सुरु गरिएको हो।
“ज्येष्ठ नागरिकलाई स्वास्थ्य संस्थासम्म आउन कठिन हुने भएकाले उहाँहरू भेला हुने स्थानमै पुगेर स्वास्थ्य परीक्षण र परामर्श दिने व्यवस्था मिलाएका छौँ,” उनले भने, “हरेक महिनाको १६ गते ज्येष्ठ नागरिक चौतारीमा नियमित स्वास्थ्य सेवा दिँदै आएका छौँ।”
बिहीबार मात्रै उक्त ज्येष्ठ नागरिक चौतारीमा ४० जनाभन्दा बढीले स्वास्थ्य सेवा लिएका थिए। स्वास्थ्य केन्द्रकी नर्सिङ निरीक्षक मञ्जु बास्तोलाका अनुसार स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकलाई मानसिक स्वास्थ्यसम्बन्धी परामर्शसमेत दिने गरिएको छ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र कुइँकेलका अनुसार कार्यक्रम स्वास्थ्य परीक्षणमा मात्र सीमित छैन। स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्नुका साथै उनीहरूको एक्लोपन कम गर्नु पनि कार्यक्रमको महत्वपूर्ण उद्देश्य हो।
“ज्येष्ठ नागरिकलाई गाह्रो–अप्ठ्यारो सोधिदिने कमै हुनुहुन्छ। छोराछोरी स्वदेशमा व्यस्त हुनुहुन्छ कि विदेशमा हुनुहुन्छ। बिरामी हुँदा स्वास्थ्य संस्थामा पुर्याउने मान्छेको अभाव छ। नातिनातिनी पुस्ता र ज्येष्ठ नागरिकबीच संवादहीनताको अवस्था छ,” कुइँकेलले भने।
स्वास्थ्यकर्मी टोलमै पुग्दा रोगको पहिचान र स्वास्थ्य परामर्शसँगै ज्येष्ठ नागरिकसँग प्रत्यक्ष संवादसमेत हुने भएकाले सामाजिक रूपमा पनि कार्यक्रम प्रभावकारी बन्दै गएको स्वास्थ्य शाखाको बुझाइ छ। ज्येष्ठ नागरिक भेला हुने स्थानमै पुगेर स्वास्थ्य सेवा दिँदा स्थानीय सरकारको उपस्थिति घरदैलोसम्म पुगेको अनुभूति हुने कुइँकेलले बताए।
अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा समेत ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणलाई प्राथमिकतामा राखेको नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले बताए।
“ज्येष्ठ नागरिक स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने अवस्था हुनसक्छ। त्यसैले उहाँहरू जहाँ भेला हुनुहुन्छ, त्यहीँ पुगेर स्वास्थ्य सेवा दिने हाम्रो उद्देश्य हो,” नगरप्रमुख तामाङले भने, “स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकसँग प्रत्यक्ष भेटघाट र संवाद हुने भएकाले यसले उहाँहरूको सामाजिक एक्लोपन कम गर्न सहयोग पुग्छ।”
नगरप्रमुख तामाङका अनुसार सबै वडामा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा टोलटोलमै स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य नगरपालिकाले राखेको छ।
चौतारीमै स्वास्थ्य सेवा लिएका ७० वर्षीय ज्येष्ठ नागरिक उपेन्द्रप्रसाद दाहालले आफ्नै ठाउँमा स्वास्थ्यकर्मी आएर जाँच गरिदिँदा निकै सहज भएको बताए। स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने झन्झट नहुने र स्वास्थ्यकर्मीले आफ्ना कुरा समेत सुनिदिने भएकाले कार्यक्रम ज्येष्ठ नागरिकका लागि उपयोगी भएको उनको भनाइ छ।
“हामी भेला हुने चौतारीमा स्वास्थ्यकर्मी आएर स्वास्थ्य परीक्षण गरिदिँदा निकै सहज भएको छ। स्वास्थ्य जाँचसँगै स्वास्थ्यकर्मीले हाम्रो कुरा सुनिदिँदा र भेटघाट हुँदा एक्लोपन पनि कम भएको महसुस हुन्छ,” दाहालले भने।