ग्यिरोङ, चीन — चीनको क्षिजाङ स्वायत्त क्षेत्रअन्तर्गत शिगात्सेको ग्यिरोङ काउन्टीमा गएको भीषण पहिरोमा परी हालसम्म १६ जनाको मृत्यु भएको छ भने ५४६ जना अझै बेपत्ता रहेको स्थानीय सरकारले जनाएको छ। बेपत्तामध्ये २६१ जना विदेशी नागरिक रहेको र उनीहरूमा नेपाली नागरिकसमेत रहेको जनाइएको छ।
तिब्बत क्षेत्रीय सरकारका अध्यक्ष कर्मा छेतानले आइतबार पत्रकार सम्मेलनमार्फत पहिरोबाट भएको क्षति तथा उद्धार अभियानबारे पछिल्लो विवरण सार्वजनिक गरेका हुन्। उनका अनुसार घटनाबारे सम्बन्धित देशका वाणिज्य दूतावासलाई जानकारी गराइसकिएको छ।
पहिरोपछि चीनले उच्च तहको प्राकृतिक विपद् आपत्कालीन प्रतिक्रिया सक्रिय गर्दै घटनास्थलमा विशेष कमान्ड पोस्ट स्थापना गरेर खोज तथा उद्धार अभियानलाई तीव्र बनाएको छ। उद्धार तथा राहतका लागि विभिन्न निकायबाट २ हजार १४१ उद्धारकर्मी, २६९ वटा सवारीसाधन र ३ हजार ९ सयभन्दा बढी उपकरण परिचालन गरिएको छ।
राहत तथा उद्धारका लागि चीनको अर्थ मन्त्रालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले १२ करोड युआन तथा राष्ट्रिय विकास तथा सुधार आयोगले थप १० करोड युआन विनियोजन गरेको स्थानीय सरकारले जनाएको छ।
पहिरोका कारण बनेका दुई अस्थायी ताललाई सम्भावित जोखिमका रूपमा निरन्तर निगरानीमा राखिएको छ। तालका बाँध हाल तुलनात्मक रूपमा स्थिर अवस्थामा रहेको अधिकारीहरूले बताएका छन्। भू–उपग्रहबाट प्राप्त तथ्यांक, रिमोट सेन्सिङ, ढलान निगरानी रडार तथा जलप्रवाह मापन गर्ने सेन्सर प्रयोग गरी तालको अवस्था निगरानी भइरहेको छ।
सम्भावित थप पहिरो रोक्न भूगर्भविद्हरूले जोखिमयुक्त पहाडी क्षेत्रको निरीक्षणसमेत गरिरहेका छन्।
४९९ जना अस्थायी आश्रयमा
पहिरोबाट प्रभावित पाँच प्रशासनिक गाउँका ४९९ जनालाई पाँचवटा अस्थायी आश्रयस्थलमा स्थानान्तरण गरिएको छ। होटल तथा होमस्टेलाई समेत अस्थायी आश्रयस्थलमा परिणत गरी विस्थापितलाई राखिएको स्थानीय प्रशासनले जनाएको छ।
प्रभावितका लागि ११६ मेट्रिक टन पीठो तथा जौ, ३२ हजार प्याकेट चाउचाउ, बोतलको पानी र ५७ हजारभन्दा बढी अत्यावश्यक राहत सामग्री वितरण गरिएको छ। प्रत्येक आश्रयस्थलमा चौबीसै घण्टा सेवा उपलब्ध गराउन स्थानीय अधिकारी र स्वास्थ्यकर्मीसहित पाँचवटा विशेष टोली परिचालन गरिएको छ।
विस्थापितमध्ये ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, गर्भवती महिला र शिशुलाई विशेष निगरानीमा राखिएको छ। आश्रयस्थलमा मनोवैज्ञानिक परामर्शदातासमेत खटाएर प्रभावितको मानसिक स्वास्थ्यमा ध्यान दिइएको छ।
स्थानीय बासिन्दाको पशुधनको सुरक्षालाई ध्यानमा राख्दै गाई, भेडालगायत पशुको नियमित निरीक्षण र हेरचाहको व्यवस्था पनि गरिएको छ।
बेपत्ता नागरिकको खोजी तीव्र
बेपत्ता नागरिकका परिवारलाई सूचना उपलब्ध गराउन चीनले २४ घण्टा सञ्चालन हुने दुईवटा हटलाइन समेत सञ्चालनमा ल्याएको छ। उद्धार टोलीले बेपत्ताको खोजीका साथै प्रभावित क्षेत्रको भौगर्भिक अवस्था र दोस्रो पहिरो तथा अस्थायी तालबाट हुन सक्ने सम्भावित जोखिमको निगरानीलाई पनि प्राथमिकता दिएको छ।
क्षेत्रीय सरकारका अध्यक्ष कर्मा छेतानले उद्धारकर्मीको परिचालन निरन्तर राख्ने, जोखिमयुक्त भूभागको निगरानी बढाउने तथा विस्थापितलाई सुरक्षित आश्रय, राहत र पुनःस्थापनाको व्यवस्था तीव्र बनाउने प्रतिबद्धता जनाएका छन्।
यस घटनामा नेपाली नागरिकसमेत बेपत्ता रहेको विवरण सार्वजनिक भएपछि नेपालका सम्बन्धित निकायले चिनियाँ पक्षसँग समन्वय गरी नेपाली नागरिकको अवस्था यकिन गर्ने र परिवारलाई आवश्यक सूचना उपलब्ध गराउने विषय थप महत्वपूर्ण बनेको छ।