गण्डकी सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले, नयाँ सत्ता समीकरणको तयारी

nepalkuro.com

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको छ। आज बसेको एमाले संसदीय दलको बोर्ड बैठकले नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो।

दलका उपनेता लीलबहादुर थापा मगरका अनुसार एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरिरहेका छन्।

“एमालेका मन्त्रीले राजीनामा बुझाउने तयारी भइरहेको छ,” उनले भने, “नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने विषयमा नेपाली कम्युनिष्ट पार्टीलगायत अन्य दलसँग एमालेले संवाद सुरु गर्छ।”

एमाले र नेकपाबीच अन्य प्रदेशमा सत्ता सहकार्य सुरु भइसकेको सन्दर्भमा गण्डकी प्रदेशमा पनि नयाँ सरकार गठनका लागि दुई दल मिलेर पहल अघि बढाउने तयारी रहेको उनले बताए।

नेपाली कांग्रेस नेतृत्वको वर्तमान गण्डकी प्रदेश सरकारमा एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री, भीम कार्की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री तथा लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्रीका रूपमा सहभागी छन्।

गत वैशाख २ गते भएको मन्त्रिपरिषद् हेरफेरका क्रममा उनीहरू मन्त्रीको जिम्मेवारीमा पुगेका थिए। एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै गण्डकी प्रदेशको सत्ता समीकरणमा नयाँ राजनीतिक हलचल सुरु भएको छ।

प्रतिक्रिया