संसद् भवन परिसरमा ‘जेन–जी मेमोरियल पार्क’को शिलान्यास

nepalkuro.com

काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको ‘जेन–जी मेमोरियल पार्क’को शिलान्यास गरिएको छ ।

आइतबार जेन–जी सहिदहरूको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले निर्माण गर्न लागिएको पार्कको सरकार र जेन–जी सहिद परिवारका तर्फबाट संयुक्त रूपमा शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री सुदन गुरुङले देशका लागि ज्यान आहुति दिने जेन–जी युवाहरूका सपना पूरा गर्ने दिशामा सरकार अघि बढिरहेको बताए ।

उनले आन्दोलनका क्रममा देखिएको सपना, सहिदहरूले गरेको बलिदान र जनताको अपेक्षा पूरा गर्न केही समय लाग्न सक्ने भए पनि त्यसको उद्देश्य हासिल गर्ने दिशामा सरकार दृढताका साथ अघि बढ्ने बताए । पार्क निर्माण हुँदैमा मात्र सहिद जेन–जीहरूले न्याय पाउन नसक्ने उल्लेख गर्दै अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो ।

कार्यक्रममा भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले नेपालमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका लागि भएका आन्दोलनले महत्वपूर्ण राजनीतिक तथा सामाजिक परिवर्तन ल्याएको बताए । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनु अहिलेको आवश्यकता रहेको उनले उल्लेख गरे ।

हजारौँ सपना र बलिदानबाट प्राप्त अवसरलाई खेर जान नदिई सुशासन, विकास र समृद्धिको बाटोमा देशलाई अघि बढाउने प्रतिबद्धता पनि मन्त्री लम्सालले व्यक्त गरे ।

यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन–जी सहिदहरूको सम्झनामा मेमोरियल पार्क निर्माण गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया