भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन

nepalkuro.com

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म एक हजार ३५७ जनाको शव फेला परेको जनाएको छ। फेला परेका शवमध्ये विभिन्न स्थानबाट मानव अङ्गसमेत भेटिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार हालसम्म १०२ शवको सनाखत भई परिवारले बुझिसकेका छन्। बाढीपछि अझै करिब पाँच हजार ३२६ जना सम्पर्कविहीन रहेको जनाइएको छ।

सम्पर्कविहीनमध्ये रसुवाका दुई हजार ८६०, नुवाकोटका एक हजार ९८१ नेपाली तथा करिब ५८७ जना विदेशी पर्यटक रहेको प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले हालसम्म १३ हजार ५८३ जनाको उद्धार गरिएको र बाढीबाट घाइते भएका छ हजार ८२७ जनाको उपचार गरिएको जानकारी दिइन्।

उनका अनुसार विभिन्न १० अस्पतालमा ३२७ जना, नेपाली सेनामार्फत तीन हजार ४०४ जना र सशस्त्र प्रहरी बलमार्फत तीन हजार ९६ जनाको उपचार गरिएको छ।

प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार २८७ र सशस्त्र प्रहरी बलका चार हजार २०३ गरी २१ हजार ४०२ सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा परिचालन भएका छन्।

प्रभावित क्षेत्रमा ३९ वटा होल्डिङ सेन्टर स्थापना गरी तीन हजार ५३३ जनालाई राखिएको छ। तीमध्ये रसुवामा ६६९, नुवाकोटमा दुई हजार ६५१ र धादिङमा २१३ जना रहेका छन्।

उद्धार तथा राहतका लागि नेपाली सेनाले एक हजार १५७ पटक, काठमाडौंस्थित निजी क्षेत्रले १२९ पटक र सशस्त्र प्रहरी बलले २०३ पटक हेलिकप्टर उडान गरेका छन्।

सरकारले रसुवामा रु. एक करोड, नुवाकोटमा रु. एक करोड र धादिङमा रु. ५० लाख नगद राहत उपलब्ध गराएको छ। प्रभावित १५ पालिकालाई कुल रु. १३ करोड ५० लाख राहत उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ।

प्रभावित क्षेत्रमा डिजेल ५० हजार लिटर, पेट्रोल १८ हजार लिटर र हवाई इन्धन १८ हजार लिटर मौज्दात रहेको छ भने ४५७ ग्यास सिलिन्डर अनुदानमा उपलब्ध गराइएको छ।

विद्युत् आपूर्तितर्फ रसुवाका ७८ प्रतिशत, नुवाकोटका ९६ दशमलव ७ प्रतिशत र धादिङका ९९ दशमलव ८ प्रतिशत घरधुरीमा विद्युत् सेवा सुचारु भएको प्राधिकरणले जनाएको छ।

बाढी प्रभावितका लागि स्वास्थ्य मन्त्रालयमार्फत १५० जनाभन्दा बढी स्वास्थ्य तथा अन्य जनशक्ति परिचालन गरी मनोसामाजिक परामर्श सेवा प्रदान भइरहेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया