बझाङका बगैँचा स्याउले भरिए, किसानको मन बजारको चिन्ताले भरियो
nepalkuro.com
१७ भदौ २०८३, बुधबार
बझाङ– रोल परी सोह्र घर छ्या, त्यई परी घर छैन आलु राख्न्या छानु छियो, स्याउ राख्न्या ठौर छैन…
बगैँचामा लटरम्म फलेका स्याउ देखाउँदै यो गीत सुनाउँदा भरूनी थापाको अनुहारमा खुसीभन्दा बढी पीडा झल्किन्छ । १६ वर्षसम्म गरेको मेहनत बगैँचामा फल बनेर झुलेको छ । तर, फल टिप्ने समय नजिकिँदै गर्दा उनको परिवारमा उत्सव होइन, ‘स्याउ कहाँ बेच्ने ?’ भन्ने चिन्ता छ ।
खप्तडछान्ना गाउँपालिका–६ राजकोटकी थापा परिवारको बगैँचामा अहिले स्याउका बोट हाँगाले थाम्न नसक्ने गरी झुकेका छन् । बगैँचा राताम्य छन् । उत्पादन देखेर किसान खुसी हुनुपर्ने हो, तर बजारको अभावले उनीहरूको खुसी चिन्तामा बदलिएको छ ।
भरूनीका अनुसार स्याउलाई बाँदर, भालु, ओध, अरिङ्गाल, बँदेल तथा विभिन्न चराचुरुङ्गीबाट जोगाउन निकै कठिन छ । त्यसैले परिवारका सदस्यले पालैपालो रातदिन बगैँचाको निगरानी गर्नुपर्छ ।
“वन्यजन्तुले आँखा झिमिक्क गर्दा माल गायब पारिदिन्छन् । त्यसैले चौबिसै घण्टा चौकीदार बस्नुपर्छ,” उनले भनिन् ।
यो समस्या भरूनीको बगैँचाको मात्रै होइन । खप्तडछान्ना–६ खालीगडामा स्याउ खेती गर्ने दर्जनौँ किसानको अवस्था उस्तै छ । राजकोटका भीमबहादुर थापा वर्षभरिको मेहनत आँखै अगाडि खेर गइरहेको देखेर चिन्तित छन् ।
“रातदिन नभनी स्याउकै हेरचाहमा छौँ । झरेर कुहिने र वन्यजन्तुले नोक्सान गरेर आधा भइसक्यो । बेचिने छाँटकाँट छैन,” उनी भन्छन् ।
उत्पादन भयो, बजार भएन
जमिन बाँझो नराख्ने उद्देश्यले स्याउ खेती गरेका किसानका लागि अहिले उत्पादनभन्दा बजार र ढुवानी ठूलो चुनौती बनेको छ । खालीगडाबाट सडक सञ्जाल पुगेको ठाउँसम्म पुग्नै करिब दुई घण्टा पैदल हिँड्नुपर्छ । त्यसपछि पनि किसानले चाहेको समयमा सवारीसाधन पाउँदैनन् ।
सवारीसाधन पाए पनि ढुवानी खर्च महँगो पर्छ । बर्खाको समयमा स्याउ पाक्ने तर त्यही समयमा पहाडी सडक अवरुद्ध हुने भएकाले किसानको उत्पादन बगैँचामै थन्किने गरेको खप्तडछान्ना–५ का किरण गिरी बताउँछन् ।
उनका अनुसार किसानले बजारसम्म स्याउ पुर्याउँदा स्याउको मूल्यभन्दा ढुवानी खर्च नै बढी पर्ने अवस्था छ । बाहिरबाट आउने सस्तो स्याउसँग स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ ।
बाहिरको स्याउले ओगट्यो बझाङको बजार
बझाङका बजारमा अहिले भारतको हिमाचल प्रदेशको सिम्ला क्षेत्रबाट आउने स्याउ सहजै पाइन्छ । नेपालकै जुम्ला र मुस्ताङको स्याउ पनि बजारमा उपलब्ध छ । ती स्याउको मूल्य प्रतिकिलो करिब १५० देखि १७० रुपैयाँ पर्छ ।
तर, बझाङकै दुर्गम गाउँमा उत्पादन भएको स्याउ बजारसम्म पुर्याउँदा त्यसभन्दा बढी खर्च लाग्छ । त्यसैले उपभोक्तासम्म पुग्दा स्थानीय स्याउ बाहिरबाट आएको स्याउभन्दा महँगो पर्न जान्छ ।
यसले किसानलाई या त निकै सस्तो मूल्यमा स्याउ बेच्नुपर्ने वा बगैँचामै छाड्नुपर्ने बाध्यता सिर्जना गरेको छ ।
खप्तडछान्ना–६ तिउनेका नरेन्द्र थापा आफ्नो बगैँचामा उत्पादित स्याउ निकै स्वादिलो भए पनि बजार नपाएको बताउँछन् ।
“हाम्रो खालीगडामा विभिन्न जातका निकै स्वादिलो स्याउ छन् । बगैँचामै प्रतिकिलो ८० रुपैयाँमा दिन्छुभन्दा पनि किन्न मान्दैनन्,” उनले भने, “टाढा बजारसम्म पुर्याउँदा ढुवानी खर्च नै उठ्दैन ।”
ठूलो क्षेत्रफलमा स्याउ खेती गरेर बजार नपाउँदा आफूलाई पछुतो लागेको उनको भनाइ छ ।
“उत्पादन गरेर मात्र हुँदो रहेनछ । बेच्ने बजार पनि चाहिने रहेछ । लहलहमै गरेको खेतीले उपयुक्त नतिजा दिएन । समय र लगानी व्यर्थै गयो भन्ने लाग्छ,” उनले निराश हुँदै भने ।
उनका अनुसार स्याउ ढुवानी गर्न पैसा तिर्न तयार भए पनि बोक्ने मान्छे पाउनसमेत कठिन छ । उत्पादनको ठूलो हिस्सा कुहिने, सड्ने तथा वन्यजन्तुले खाने गरेको र बाँकी रहेको स्याउले पनि उचित मूल्य नपाउने अवस्था छ ।
८०० बोट लगाएका किसान विदेश जाने सोचमा
खालीगडाका किसान कैलाश खड्काले स्याउबाट राम्रो आम्दानी गर्ने आशामा ८०० बोट रोपेका थिए । तीमध्ये करिब ३०० बोटमा अहिले लटरम्म स्याउ फलेका छन् ।
बगैँचा स्याउले भरिँदा उनलाई खुसी लाग्छ । तर, स्याउ टिपेर घरमा थुपार्न थालेपछि चिन्ता सुरु हुन्छ ।
“थुप्रिएको स्याउ बेला–मौकामा बेचेर छोराछोरी पाल्न, पढाउन मुस्किल देख्छु,” उनी भन्छन्, “छोरी काठमाडौँ पढ्छे । स्याउकै पछि लाग्दा अहिले उसलाई दिने खर्च पनि उठाउन नसकिने अवस्था भयो । अब विदेशतिर जाने सोचिरहेको छु ।”
गत वर्ष ज्याला दिएर डोकामा स्याउ बोकेर बाजुराको काँडा–डोगडीसम्म पुर्याए पनि त्यहाँ ग्राहक नपाएको उनले बताए । स्याउ लिएर फर्कन सम्भव नभएपछि कोदो, मूला र आलुसँग साटेर घर फर्किएको उनको अनुभव छ ।
“यो पटक पनि त्यस्तै गर्नुपर्ने छ,” उनले भने ।
गाउँमै स्याउ किनेर खाने मानिससमेत कम हुँदै गएको उनको भनाइ छ । गाउँबाट बसाइँसराइ बढेकाले बजारको समस्या थपिएको छ ।
“गाउँ खालीजस्तै भइसके । खासै मान्छे नै छैनन् । टाढा पुर्याउन सक्ने क्षमता छैन । व्यवस्थित रस्टिक स्टोर भए बेसिजनमा पनि बेचिन्थ्यो कि !” खड्का भन्छन् ।
कृषकको सहारा बन्दै आरएसडिसी
किसानको यही समस्यालाई सम्बोधन गर्न ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी) ले स्याउ बजारीकरणको पहल थालेको छ ।
खप्तडछान्ना गाउँपालिकामा सहकारीमार्फत कृषि क्षेत्रमा काम गरिरहेको संस्थाले पहिलो चरणमा किसानबाट स्याउ सङ्कलन गरी बजारसम्म पुर्याउने तयारी गरेको आरएसडिसीका कार्यक्रम संयोजक धिरेन्द्र रोकायाले बताए ।
उनका अनुसार पहिलो चरणमा १० क्विन्टल स्याउ सङ्कलन गरी धनगढी पुर्याइनेछ । किसानलाई सहज बनाउन ढुवानी खर्चको केही हिस्सा संस्थाले व्यहोर्नेछ ।
“सिजनमा सबै ठाउँमा स्याउ हुन्छ । त्यो मूल्यभन्दा सस्तो दिन सकेमा बजार पाउने आशा रहन्छ । त्योभन्दा बढी भए थन्किन सक्छ,” रोकायाले भने ।
पहिलो चरणको काम परीक्षणका रूपमा अघि बढाइएको र सफल भएमा आगामी दिनमा ठूलो परिमाणमा स्याउ बजार पठाउन सकिने उनको भनाइ छ ।
बजारले माग गरेमा उत्पादनसँगै सङ्कलन, ग्रेडिङ, प्याकेजिङ, भण्डारण र ढुवानी व्यवस्थालाई व्यवस्थित बनाउने तथा सहकारीलाई थप सशक्त बनाएर किसानलाई व्यावसायिक स्याउ खेतीतर्फ आकर्षित गर्ने संस्थाको योजना छ ।
बझाङका किसानका बगैँचा अहिले स्याउले भरिएका छन् । समस्या उत्पादनको होइन, उत्पादनलाई बजारसम्म पुर्याउने बाटोको हो । सडक, ढुवानी, भण्डारण र बजारको भरपर्दो व्यवस्था हुन सकेमा यही राताम्य बगैँचा किसानको दुःख होइन, समृद्धिको आधार बन्न सक्छ ।