कृष्णभीरको पहिरोले हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप बढ्यो

nepalkuro.com

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौँडा–काठमाडौँ सडकमा सवारीको चाप अत्यधिक बढेको छ।

मुख्य सडकबाट आवागमन हुन नसकेपछि काठमाडौँ आउने तथा काठमाडौँबाट बाहिरिने सवारीसाधन वैकल्पिक मार्गतर्फ मोडिँदा हेटौँडा–काठमाडौँ सडकमा पछिल्लो एक सातादेखि सवारी चाप बढेको हो।

सवारीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १६ गतेदेखि साना तथा ठूला सवारीसाधनका लागि काठमाडौँ–हेटौँडा आवतजावत गर्न छुट्टाछुट्टै रुट तोकेको छ।

१० चक्कासम्मका मालवाहक सवारीसाधन काठमाडौँतर्फ आउँदा त्रिभुवन राजपथ र फर्कंदा कान्ति राजमार्ग प्रयोग गरिरहेका छन्। त्यस्तै, हेटौँडाबाट काठमाडौँतर्फ आउने १४ सिटभन्दा कम क्षमताका सवारीसाधनलाई भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै आउने रुट तोकिएको छ।

काठमाडौँबाट हेटौँडातर्फ जाने सवारीसाधन भने फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्ग हुँदै सञ्चालन भइरहेका छन्।

साँघुरो पहाडी सडकमा एकैपटक ट्रक, बस तथा अन्य सवारीसाधनको चाप बढ्दा यात्रुले लामो समयसम्म जाममा बस्नुपर्ने अवस्था छ। यसले नियमित आवागमनसँगै काठमाडौँका लागि अत्यावश्यक वस्तु तथा ग्यासलगायत सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ।

कृष्णभीरमा पहिरो खसेपछि पश्चिम नेपालतर्फ जाने सार्वजनिक यातायात तथा ग्यास, खाद्यान्नसहित अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीसाधनले समेत यही वैकल्पिक मार्ग प्रयोग गर्दै आएका छन्।

सामान्य अवस्थामा करिब तीन घण्टामा पूरा हुने हेटौँडा–काठमाडौँ यात्रा अहिले सवारी चापका कारण पाँच घण्टासम्म लम्बिएको छ।

प्रतिक्रिया