टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धार नरोकिने सेनाको भनाइ

nepalkuro.com

काठमाडौं– नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धार कार्य जारी राख्ने जनाएको छ।

बाढी प्रभावित जलविद्युत् आयोजनाका टनेलमा करिब १२१ जना नागरिक फसेको हुनसक्ने अनुमान गर्दै सेनाले खोज तथा उद्धारलाई तीव्रता दिएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा सहायक रथी सुवाशजङ्ग थापाले सरकारले काम रोक्ने निर्णय नगरेसम्म टनेलमा खोजी तथा उद्धार जारी रहने बताए।

उनका अनुसार टनेलमा तीव्रताका साथ निरन्तर खोजी भइरहेको छ। रसुवागढी जलविद्युत् आयोजनामा उद्धार टोली र आयोजनाका प्रतिनिधिसहितको टोलीले पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी गरेको उनले जानकारी दिए।

नेपाली सेनाले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई हवाई, जमिन र टनेल गरी तीन क्षेत्रमा विभाजन गरेर काम गरिरहेको जनाएको छ।

सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले सरकारको निर्देशनअनुसार विपद्सँग सम्बन्धित सबै निकायसँग समन्वय र सहकार्य गर्दै खोज तथा उद्धार भइरहेको बताए।

उनले विदेशबाट नेपाल आएका उद्धारकर्मीसँग समेत सहकार्य गरी उद्धार कार्य अघि बढाइएको जानकारी दिए। उनका अनुसार विपद्का क्रममा नेपाली सेनाका ४५ जना सैनिकसमेत बेपत्ता छन्।

यसैबीच, प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत सामग्री पुगिसकेको जानकारी दिए। अहिले हेलिकप्टरलाई खोज तथा उद्धारमा प्राथमिकता दिइएकाले हेलिकप्टरमार्फत राहत पुर्‍याउनुपर्ने केही स्थानमा राहत लैजान नसकिएको उनले बताए।

त्यस्ता स्थानमा त्रिशूली, रसुवालगायत हेलिकप्टर पुग्न सक्ने नजिकका क्षेत्रबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उनले जानकारी दिए। स्थानीय सरकारसँग निरन्तर समन्वय गरी राहत वितरणको काम भइरहेको उनको भनाइ छ।

डा. उप्रेतीले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको बताउँदै छिमेकी मुलुकसँग समन्वय गरी खोज, उद्धार तथा राहतका लागि आवश्यक सहयोग लिइरहेको जानकारी दिए।

राज्यका तर्फबाट खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराखी सुरक्षा निकायलाई चौबीसै घण्टा परिचालन गरिएको उनले बताए।

प्रतिक्रिया