सहिद र घाइतेले देखेका सपना पूरा गर्न सरकार प्रतिबद्ध : मन्त्री गौतम
nepalkuro.com
२३ भदौ २०८३, मङ्गलबार
काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन–जी आन्दोलनका सहिद तथा घाइतेहरूले देखेका हरेक सपना पूरा गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।
जेन–जी सहिद दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गौतमले वर्तमान सरकार सफा नियतका साथ अघि बढिरहेको बताउँदै सहिद तथा घाइतेका सपना साकार पार्न सरकार प्रतिबद्ध रहेको धारणा राखिन्।
उनले आन्दोलनपछि जनताले लोकतान्त्रिक विधि र पद्धतिमार्फत नयाँ नेतृत्व चयन गरेको उल्लेख गर्दै सरकार जनताकै साथमा रहेको बताइन्।
वर्तमान सरकार गठन भएको साढे चारदेखि पाँच महिना मात्र भएकाले सुरुवाती चरणमा धेरै संरचना बुझ्न र आवश्यक व्यवस्थापन गर्न समय लागेको उनको भनाइ थियो।
प्रतिनिधि सभामा करिब दुई–तिहाइको संख्या भए पनि कानुन निर्माणका क्रममा राष्ट्रिय सभाबाट समेत विधेयक पारित हुनुपर्ने र राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण प्रक्रिया सहज नभएको उनले बताइन्।
राष्ट्रिय सभा तथा अन्य संरचनामा कसले सरकारलाई सहयोग गरिरहेको छ वा छैन भन्ने विषय जनताले प्रत्यक्ष रूपमा मूल्यांकन गरिरहेको मन्त्री गौतमको भनाइ थियो।
उनले जनताको धैर्यताको बाँध फुट्न सक्ने अवस्था आफूहरूले पनि बुझिरहेको बताउँदै जनतालाई जति पीडा छ, सरकारमा रहेकाहरूलाई पनि उत्तिकै पीडा रहेको दाबी गरिन्।
मन्त्री गौतमले अहिले आपसमा लड्ने र एकअर्कामाथि दोषारोपण गर्ने अवस्था सिर्जना गर्दा विरोधीहरूले खेल्ने ठाउँ पाउने भएकाले सबै एकजुट भएर धैर्य र साहसका साथ अघि बढ्न आग्रह गरिन्।
भदौ २३ गते युवाहरूमाथि गोली चलाइएको, दमन गरिएको र उनीहरूले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै उनले भदौ २३ र २४ गतेका घटनालाई एउटै दृष्टिले हेर्न नमिल्ने बताइन्।